१२ आश्विन २०८१, शनिबार

डब्लुएचओको घोषणा : नेपालले कोभ्याक्स सुविधा अन्तर्गत २२ लाख ५६ हजार डोज खोप पाउने


कोभिसिल्ड खोप

काठमाडौं । नेपालले कोभ्याक्स सुविधा अन्तर्गत २२ लाख ५६ हजार डोज कोरोना भाइरसविरुद्धको खोप पाउने भएको छ । विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ले बिहीबार प्रकाशित गरेको अन्तरिम वितरण तालिका अनुसार नेपालले सो संख्यामा खोप प्राप्त गर्ने भएको हो ।

कोभ्याक्सको अन्तरिम वितरण योजना अन्तर्गत नेपालले अक्सफोर्ड र एस्ट्राजेनेकाले संयुक्त रुपमा विकास गरेको तथा भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप प्राप्त गर्ने भएको हो । सो खोपको आपूर्ति फेब्रुअरीको अन्त्यसम्ममा हुन सक्ने अनुमान गरिएको छ ।

नेपालले उक्त खोपलाई आपतकालिन प्रयोगमा ल्याएको एक सातापछि डब्लुएचओले यस्तो घोषणा गरेको हो । फेब्रुअरी महिनाको अन्त्यसम्म नेपालले खोप प्राप्त गर्ने डब्लुएचओको प्रक्षेपणमा उल्लेख छ । नेपालको औषधी व्यवस्था विभागले कोभिसिल्ड खोपलाई मात्र आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ ।

राष्ट्रसंघले उपलब्ध गराउने उक्त खोपको डोज नेपालको कूल जनसंख्याको ३.३ प्रतिशत (१ करोड) लाई पुग्ने जनाइएको छ । नेपालले ७२ प्रतिशत जनसंख्यालाई खोप लगाउने योजना बनाएको छ । १८ वर्षभन्दा माथिल्लो उमेरकाले मात्र यो खोप लगाउन पाउनेछन् । सो खोप ५५ वर्षमाथिका र दीर्घ रोगीलाई लगाउने सरकारको योजना छ ।

कोभ्याक्सले खोप विकासका लागि अनुसन्धान र उत्पादनलाई सहयोग गर्दै आएको छ । यसले सबै देशलाई समान खोप वितरण गर्ने र सन् २०२१ को अन्त्यसम्म दुई अर्ब मात्रा खोप वितरण गर्ने लक्ष्य लिएको छ । कोभ्याक्स सुविधाअन्तर्गत ७८ देशले खोप किन्ने छन् ।

९२ वटा कम आय भएका देशले विकास अनुदान वा निजी क्षेत्रको सहयोगमा खोप पाउने छन् । नेपालले सोही सुविधा पाउन लागेको हो । हाल भारत सरकारले अनुदानमा दिएको १० लाख डोज खोप नेपालभर लगाउन थालिएको छ । चीनले पनि तीन लाख डोज खोप सहयोगस्वरुप दिने घोषणा गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !