१९ पुस २०८१, शुक्रबार

कोरोना भाइरसका कारण विदेशमा थप ९ जनाको निधन


मृत्यु

लण्डन । कोभिड-१९ को सङ्क्रमणबाट विदेशमा थप ९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता युकेमा चार, कुवेतमा तीन, पोर्चुगलमा एक र मलेसियामा एक जनाको निधन भएको हो ।

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै कोरोना भाइरसबाट २० देशमा मृत्यु हुनेको सङ्ख्या ३२७ पुगेको प्रेस संयोजक, कोभिड– १९ उच्चस्तरीय समिति गैरआवासीय नेपाली सङ्घका संयोजक चिरन शर्माले जानकारी दिनुभयो ।

सङ्घको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५६ हजार २६ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ तीमध्ये ५३ हजार ४३२ जना कोरोनामुक्त भएका छन् । यो कूल सङ्क्रमितको ९५ प्रतिशत हो ।

गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यस साता बेलायत, पोर्चुगल, स्पेन, पोल्याण्ड, मलेसिया, जापानलगायत मध्यपूर्वमा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।

यस्तै कोरोना भाइरसका कारण नेपालमा एक हजार ९९४ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ६९ हजार १८० जना छन् भने दुई लाख ६३ हजार ७३४ जना अर्थात् ९७.५ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

एक सातामा औसतमा २ हजार नेपाली संक्रमित

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिले एक सातामा औसतमा दुई हजार नेपाली सङ्क्रमित हुने गरेको जनाएको छ । सो आधारमा एक महिनामा औसतमा आठ हजार नेपाली सङ्क्रमित हुने गरेको समितिका संयोजक सञ्जिव सापकोटाले जानकारी दिनुभयो ।

सोही अवधिमा औसतमा एक महिनाको अवधिमा चार हजार सङ्क्रमणमुक्त हुने आँकलन गरिएको डा सापकोटाले बताउनुभयो । स्वास्थ्य समितिले विश्वका विभिन्न मुलुकमा खोप अभियान शुरु भइसके पनि नेपाललगायतका नेपाली भएका कैयौँ मुलुकमा खोप अभियान शुरु नभएकाले सावधानी अपनाउन आग्रह गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु