धनगढी, भदौ २८ । कैलाली जिल्लाका ६९ जनासहित सुदूरपश्चिम प्रदेशका थप ७३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह ३ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ७३ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।
सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार २३ जना महिलाहरु र ५० जना पुरुषहरुमा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २४५ जनाको कोरोना परीक्षण गर्दा कैलालीका ६९ जना, कंचनपुरका ३ जना र डडेल्धुराका १ जनामा कोरोना संक्रमण देखिएको हो ।
डा. पाण्डेका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका मात्रै ६७ जनामा संक्रमण पुष्टि भएकाहरुमा २२ जना महिला र ४५ जना पुरुष रहेका छन् । यस्तै गोदावरी नगरपालिकाका १ जना र लम्कीचुहाका १ जनामा कोरोना संक्रमण देखिएको छ ।