७ आश्विन २०८१, सोमबार

पर्साको पोखरियाका मेयरसहित थप ९२ जनामा कोरोना पुष्टि


कोरोना भाइरस

वीरगञ्ज, १ भदौ । पर्सा जिल्लाको पोखरिया नगरपालिकाका मेयर दीपनारायण प्रसाद रौनियार सहित थप ९२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । साउन महिनामा मात्र पर्सा जिल्लामा ११५४ जना कोरोना संक्रमित थपिएका छन् ।

आज कोरोना संक्रमण पुष्टि हुनेहरुमध्ये ३८ जना वीरगन्ज महानगरपालिकाका बासिन्दा हुन् ।गत साउन २६ गते वीरगन्ज-११ श्रीपुरमा गरिएको स्वाब संकलनमा ११ जना र साउन २७ मा त्रिजुद्ध स्कुलमा गरिएको स्वाब संकलनमा २७ जनामा कोरोना पुष्टि भएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अनुसार विभिन्न पालिकाको क्वारेन्टाइनमा रहेका तथा कन्ट्याक्ट ट्रेसिङमा परेकाको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको थियो । नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर किट्स अभाव भएपछि साउन २७ मा ११०० भन्दा बढी स्वाब नमुना टेकु पठाइएको हो ।

हिजो साउन ३२ आइतबार बेलुकीसम्म प्राप्त रिपोर्ट अनुसार पोखरियाका ३३ जनामा कोरोना पुष्टि भएको छ । मेयर रौनियारसहित उनको परिवारका ८ जना, पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसहित ६ जना स्वास्थ्यकर्मीमा पनि कोरोना देखिएको पोखरिया अस्पताल स्रोतले बताएको छ ।

साथै जगरनाथपुर गाउँपालिकामा साउन २७ मा गरिएको स्वाब संकलनमा ४ स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै सखुवाप्रसौनी गाउँपालिकामा साउन २६ मा गरिएको स्वाब संकलनमा ६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !