८ आश्विन २०८१, मंगलबार

अख्तियारका प्रमुख आयुक्त घिमिरेमा देखियो कोरोना संक्रमण


नवीन घिमिरे

काठमाडौं, २७ साउन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार घिमिरेलाई मंगलबार कोरोना पुष्टि भएको हो । घिमिरे हाल घरमै आइसोलेसनमा छन् ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार घिमिरेका ड्राइभर र पछुवा गाडीमा सुरक्षार्थ तैनाथ ७ जना प्रहरीलाई यसअघि नै कोरोना भएको थियो । त्यसलगत्तै घिमिरेको पनि स्वाब परीक्षण गर्दा मंगलबार संक्रमण पुष्टि भएको हो । हालसम्म अख्तियारका घिमिरेसहित ४१ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भईसकेको छ ।

आफ्ना सवारी चालक र पछुवा गाडीका प्रहरीमा पनि कोरोना देखिएपछि घिमिरे टंगालस्थित कार्यालयमा आएका थिएनन् । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार घिमिरे सहित अख्तियारका अन्य तीन उच्च अधिकारीलाई पनि कोरोना संक्रमण भएको छ । तर मन्त्रालयले ती अधिकारीहरु बारेको विवरण गोप्य राखेको छ ।

कोरोना परीक्षणका अख्तियारका अन्य ३५० जना कर्मचारीको स्वाबसमेत संकलन गरिएको छ । उनीहरुको रिपोर्ट आउन बाँकी छ । कोरोना संक्रमण पुष्टि भएका कुनै पनि कर्मचारी अस्पताल भर्ना भएका छैनन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !