९ आश्विन २०८१, बुधबार

पर्सामा ५ थुनुवासहित थप ३२ जनामा देखियो कोरोना संक्रमण


कोरोना भाइरस

वीरगन्ज, साउन ९ । पर्साको वीरगन्जमा रहेको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ५ थुनुवा भारतीय नागरिकसहित थप ३२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । हिजो बिहीबार साँझ गरिएको परीक्षणमा ७ जना महिला र २५ जना पुरुषमा कोरोना पुष्टि भएको नारायणी अस्पतालले जानकारी दिएको छ ।

उनीहरूको साउन ६ र ७ गते स्वाब संकलन गरिएको थियो । संक्रमितमध्ये १८ जना वीरगन्जको त्रिजुद्ध माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसिरहेका थिए । १३ जना कन्ट्याक्ट ट्रेसिङका आधारमा क्वारेन्टाइनमा ल्याइएका हुन् । बाँकी २ जना संक्रमितमा १ जना सर्लाही र १ जना बाराका छन् ।

‘९ महिने बालकदेखि लिएर ६० वर्षीय वृद्धसम्म संक्रमित भएका छन् भने अधिकांश कन्ट्याक्ट ट्रेसिङका क्रममा संक्रमित देखिएका हुन् । स्वास्थ्य कार्यालय पर्साका अनुसार श्रीपुर वडा प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका ५ जना भारतीयमा कोरोना संक्रमण देखिएको हो ।

वीरगन्ज तथा आसपासका क्षेत्रमा समुदायसम्म कोरोना संक्रमण फैलिसकेको प्रशासनको आंकलन छ । वीरगन्ज र आसपासका क्षेत्रमा समुदाय स्तरमा कोरोना संक्रमण देखिइसकेको महामनगरपालिकाको पनि निष्कर्ष छ ।

बिहीबार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको आकस्मिक बैठकमा कोरोना संक्रमण नियन्त्रणलाई न्यूनीकरणबारे ठोस निर्णय गर्न सकेन । आज पुनः सरोकारवालाहरुको बैठकबाट लकडाउन गर्ने कि निषेधाज्ञा जारी गर्ने भन्नेबारे निर्णय हुने बताइएको छ ।

वीरगञ्जका विभिन्न अस्पतालमा कार्यरत चिकित्सक र उपचाररत विरामीमा समेत कोरोना संक्रमण पुष्टि भएपछि नेपाल चिकित्सक संघले आकस्मिक बाहेकका सेवा बन्द गर्न आह्वान गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !