२७ वैशाख, काठमाडौं । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण फेरि थप ७ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले सो कुराको जानकारी दिएका हुन् ।
मन्त्रालयका अनुसार आज शनिबार काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको हो । जस अनुसार उदयपुरको भुल्केमा ३ जना, कपिलवस्तुमा ३ जना र पर्साको छपकैयामा १ जना नयाँ संक्रमित फेला परेका हुन् ।
उदपयपुरको भुल्के निवासी १८, ४५ र ६५ वर्षका ३ जना महिलाहरु, कपिलवस्तुमा १७ वर्षका १ जना पुरुष र १८ वर्षका २ जना पुरुषहरु तथा पर्साको छपकैयामा ६२ वर्षका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
हालसम्म पाप्त जानकारी अनुसार निजहरुको स्वास्थ्य अवस्था सामान्य छ र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको पनि सहप्रवक्ता अधिकारीले जानकारी दिएका छन् । यसअघि नेपालमा संक्रमितको संख्या १०२ पुगेको थियो, आज कोरोनाका ७ जना संक्रमित फेला परेसंगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको हो ।
यो पनि पढ्नुहोस्
नेपालमा संक्रमितको संख्या १०२ पुग्यो, आज नेपालगञ्जमा थपिए कोरोनाका १ संक्रमित