१४ पुस २०८१, आइतबार

नेपालमा संक्रमितको संख्या १९ हजार नाघ्यो, आज थपिए कोरोनाका नयाँ ३११ संक्रमित


डा. जागेश्वर गौतम

साउन १३, काठमाडौँ ।  नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ३११ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९०६३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा गरिएको जम्मा पाँच हजार ३२ पिसीआर परीक्षणमा उक्त सङ्ख्यामा सङ्क्रमित भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज जनाएको छ ।

यसैगरी कोरोनाका कारण थप एक जनाको निधन भएको छ । बझाङको बुंगल गाउँपालिका–३ स्थायी ठेगाना भएका ६५ वर्षीय पुरुषको यही साउन ९ गते आफ्नै घरमा निधन भएको हो । दम रोगका बिरामी उहाँ गत असार २४ गते भारतको बैंगलोरबाट घर फर्किएका थिए । यो सँगै नेपालमा कोरोनाका कारण निधन हुनेको सङ्ख्या जम्मा ४९ पुगेको मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिए ।

साथै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १२१ रहेको र हालसम्म कोरोना सङ्क्रमण निको भएर घर फर्किनेको जम्मा सङ्ख्या १३ हजार ८७५ जना पुगेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार १३९ रहेको छ । मुलुकभरका विभिन्न क्वारेन्टिनमा हाल १५ हजार ३३१ व्यक्ति रहेको उनले जानकारी दिए ।

सरकारले हाल काठमाडौँ उपत्यका प्रवेश गर्ने विभिन्न तीन नाकाबाट कोरोना सङ्क्रमण जाँचका लागि नमूना सङ्कलन गरिरहेको छ । यसैक्रममा आज साँझ ४ बजेसम्ममा फर्फिङ नाकाबाट ९५५, थानकोट नागढुङ्गाबाट दुई हजार ९१४ र साँगा ९४४ गरी जम्मा चार हजार ८१३ पिसीआर परीक्षणका लागि नमूना सङ्कलन गरिएको छ । उक्त नमूनाको रिपोर्ट आएपछि यथाशिघ्र जानकारी गराइने मन्त्रालयका प्रवक्ता गौतमले बताए । मुलुकमा बन्दाबन्दी खुलेपनि कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले आवश्यक स्वास्थ्य सावधानी अपनाउन मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या १८७५२ पुग्यो, आज थपिए कोरोनाका नयाँ १३९ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !