काठमाडौँ, असार २७ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ७० जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६७१९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।
पछिल्लो २४ घण्टामा ७० कोरोना सङ्क्रमित थपिएका छन् । कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्दै मन्त्रालयका प्रवक्ता डा. गौतमले विभिन्न २५ वटा प्रयोगशालामा गरिएको तीन हजार ६४८ नमूना परीक्षणमा ७० जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
प्रदेश अनुसार सबैभन्दा बढी गण्डकी प्रदेशमा १६, वाग्मती प्रदेशमा १४, प्रदेश नं १ मा १३, प्रदेश नं ५ मा १०, कर्णाली प्रदेशमा सात तथा प्रदेश नं २ र सुदूरपश्चिम प्रदेशमा पाँच÷पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
आज सबैभन्दा बढी सिन्धुपाल्चोक र दाङमा पाँच/पाँच, सुनसरी, उदयपुर, स्याङ्जा, तनहुँ र कञ्चनपुरमा चार/चार, मोरङ, काठमाडौँ, धादिङ, सर्लाही, बागलुङ र सुर्खेतमा तीन/तीन, झापा, म्याग्दी, कास्की, बाँके, बर्दिया र जुम्लामा दुई/दुई, सिरहा, नुवाकोट, चितवन, सिन्धुली, रौतहट, पर्वत, पाल्पा, रुकुम पश्चिम, सल्यान र अछाममा एक/एक सङ्क्रमित भेटिएका छन् ।
यससँगै कोरोना सङ्क्रमितको कूल सङ्ख्या १६ हजार ७१९ पुगेको छ । छ जिल्लामा ५०० बढी सक्रिय सङ्क्रमित छन् । महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् । पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा गराइरहेका ४३१ जना कोरोना सङ्क्रमण मुक्त भई ‘डिस्चार्ज’ भएको उहाँले प्रवक्ता प्राडा गौतमले जानकारी दिनुभयो ।
हालसम्म कूल सङ्क्रमितको ५०.५ प्रतिशत डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कूल सङ्ख्या आठ हजार ४४२ पुगेको छ । क्वारेन्टिनमा रहनेको सङ्ख्या २४ हजार ९७ छ भने आइसोलेशनमा रहेका सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजार २३९ छ ।
प्रदेश नं १ का क्वारेन्टिनमा दुई हजार ७७४, प्रदेश नं २ मा दुई हजार ९६५, वाग्मती प्रदेशमा एक हजार ९२८, गण्डकी प्रदेशमा चार हजार १९७, प्रदेश नं ५ मा पाँच हजार १९९, कर्णाली प्रदेशमा एक हजार ८१८ र सुदूरपश्चिममा पाँच हजार २१६ जना क्वारेन्टिनमा बसेका छन् । छ जिल्ला कोरोना सङ्क्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ । प्रवक्ता प्राडा गौतमका अनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्लामा सक्रिय सङ्क्रमित छैनन् ।
यो पनि पढ्नुहोस्
नेपालमा संक्रमितको संख्या १६६४९ पुग्यो, आज थपिए कोरोनाका नयाँ ११८ संक्रमित