२२ फागुन, काठमाडौं । बुधबार मिर्गौलाको सफल प्रत्यारोपण गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको चिकित्सकहरूले बताएका छन् । उनको अवस्थामा सुधार आएको र बोल्न सक्ने अवस्थामा रहेको चिकित्सकहरुको भनाइ छ ।
प्रधानमन्त्री ओलीको अवस्थाबारे बुझ्न अस्पताल पुगेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले चिकित्सकहरूलाई उद्धृत गर्दै अवस्था सुधार हुँदै गएको बताए । उपप्रधान मन्त्री पोखरेलका अनुसार ओलीलाई बिहीबार बिहान चिया खुवाइएको जानकारी चिकित्सकले गराएका छन् ।
प्रधानमन्त्री ओलीले तरल चीजहरु खान थाल्नुभएको र अन्य सूचकहरु राम्रो रहेको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा बुधबार उहाँको दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गरिएको थियो । ओलीलाई अहिले शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचार कक्षमा राखिएको अस्पतालले जनाएको छ ।
उहाँको पछिल्लो स्वास्थ्य स्थितिबारे अस्पतालले हरेक दिन ४ बजे औपचारिक जानकारी दिनेछ । प्रधानमन्त्री ओली मिर्गाैला प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना हुनुभएको थियो ।