हेटौँडा, २४ माघ । हेटौँडा अस्पतालले कोरोना भाइरस उपचार गर्न छुट्टै ‘कोरोना भाइरस उपचार कक्ष ’तयार गरेको छ । वाग्मती प्रदेश सरकार अन्तर्गतको सबैभन्दा ठूलो अस्पतालका रुपमा यो अस्पताल रहेको छ । सो भाइरसका लक्षण देखिएका विरामी आएमा छुट्टै कक्षमा राखी उपचार गर्ने व्यवस्था मिलाइएको अस्पतालका प्रमुख डा प्रवीण श्रेष्ठले जानकारी दिनुभयो ।
सामाजिक विकास मन्त्रालयको निर्देशनअनुसार अस्पतालले दुई वटा कोठा छुट्याएकोे छ । अस्पतालमा हाल दैनिक पाँचदेखि सात सयको हाराहारीमा बिरामी सेवा लिन आउने गरेका छन् ।
सेवा लिन आउने बिरामीमा कोरोना भाइरसको लक्षण हालसम्म देखिएको छैन । भाइरसको लक्षण देखिए तत्काल रगतको नमूना सङ्कलन गरी प्रयोगशालामा पठाइने व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ । अस्पतालले उपचारका लागि आउने बिरामीलाई सो भाइरससम्बन्धी सचेतना समेत गराइराखेको छ ।
यसैबीच प्रदेशको स्वास्थ्य निर्देशनालयले सो भाइरसको सङ्क्रमण फैलिन नदिन अपनाउनुपर्ने सावधानी तथा भाइरस फैलिएमा नियन्त्रणका लागि अपनाउन सकिने उपायका बारेमा छलफल गरेको छ ।
सुरक्षाको प्रत्याभूति गराएका छौ : मन्त्री जम्कट्टेल
वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले प्रदेशका सबै नागरिकलाई सक्षम गराउने लक्ष्य लिएको बताउनुभएको छ । हेटौँडा उपमहानगरपालिका–१४ मयुरधापमा अस्थायी प्रहरी चौकीको उद्घाटन गर्दै उहाँले नागरिकलाई सक्षम बनाउन सुरक्षाको प्रत्याभूति आवश्यक पर्ने उल्लेख गर्नुभयो ।
वाग्मती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरलगायतले सुरक्षाको प्रत्याभूति भएमा मात्र समाज सिर्जनशील हुने धारणा राख्नुभयो ।