८ पुस २०८१, सोमबार

तनाव वहन गर्ने उपायहरु


stress

आकस्मिक घटनाहरू मानिसको जिन्दगीमा घटी नै रहन्छन् । यस्ता कतिपय घटनाहरू तनावदायक पनि हुन्छन् । कतिपय तनावहरू क्षणिकमात्र हुन्छन् । तर यी क्षणिक तनावहरूबाट सही प्रकारले निकास नपाएमा यिनका असर निकै भयानक पनि हुन सक्दछन् । तीव्र क्षणिक तनावले मानिसको राम्ररी सोच्न सक्ने क्षमतामा असर गर्दछ । फलतः निर्णय लिनसक्ने क्षमतामा ह्रास आउछ । आत्तिएर मानिसले गलत निर्णय लिन पुग्ने हुन्छ र परिणाम भयावह र दूरगामी हुन सक्दछ । उदाहरणको लागि: पहिले कुनै मानसिक समस्या नभएको मानिसले एक्कासि तनावको कारणले आत्महत्या पनि गर्न सक्दछ ।

धेरैजसो तनावहरू हामी सजिलै बहन गर्न सक्दछौं भने केहि तनावले हामीलाई निकै मानसिक कसरत गराउदछन् । त्यस्तै हामीमध्ये कति सानातिना तनावले नै निकै गल्दछौं भने कोहि चाही निकै ठुला तनावहरूको सामना पनि हाँसी हाँसी गर्नसक्दछन्। यी फरकका पछाडि हामीले बाल्यकालदेखि अहिलेसम्म क्रमिक रूपमा सिकेका तनाव बहन गर्ने तरिकाहरू व्यक्तिपिच्छे फरकफरक हुनु हो । तनाव बहन गर्ने विभिन्न तरिकाहरू छन् । यी तरिकाहरूलार्इ दुइ वर्गमा विभाजन गर्न सकिन्छ – सही र गलत तनाव वहन गर्ने तरिकाहरू । वास्तवमा यी दुवै प्रकारका तरिकाहरू हामीले दैनिक जीवनमा प्रयोग गरिरहेकै तरिकाहरू हुन् । तर यी तरिकाहरूका बारेमा हामी सजग भएर सोच्दैनौ जसको फलस्वरूप बेलाबखतमा हामी गलत तरिकाको प्रयोग गर्छौं र दु:ख पाउछौं । यी तरिकाहरूको तल चर्चा गरिएको छ ।

तनाव बहन गर्ने सही तरिकाहरू – यी  दुइ किसिममा हुन्छन

१.समस्या समाधान गर्ने तर्फ केन्द्रित तरिकाहरू

  • समस्या कसरी समाधान गर्ने भनरे उपायहरूको बारेमा सोच्नु
  • तनावको बारेमा छलफल गर्नु, अरुसंग सहायता माग्नु, आवश्यक सुचनाहरु संकलन गर्नु
  • तनावको सामना गर्नु तथा तनाव प्रति पलायनवादी दृस्टीकोण नराख्नु

२.भावावेग नियन्त्रण गर्ने तरिकाहरू

  • अर्को व्यक्तिसामु भावना पोख्नु
  • यदि तनावलाई नसोच्दा नै आफूलाई फाइदा छ भने सो घटनालाई नसम्झने कोशिश गर्नु
  • तनावदायक घटना जस्तोसुकै भए पनि त्यसबाट सकारात्मक शिक्षा लिन खोज्नु

तनाव बहन गर्ने गलत तरिकाहरू

  • रक्सी तथा लागू पदार्थ सेवन गर्नु
  • आफूले आफै लाइ हानि पुर्याउनु: जस्तै बिष सेवन गर्नु, आफ्नो शरिरमा ब्लेड ले काट्नु, जिउमा घाउ पार्नु , आत्महत्या गर्नु
  • तनावलार्इ थेग्न नसकेर ह्रिंसक व्यवहार प्रदर्शन गर्नु, बढी उत्तेजित हुनु
  • अत्यधिक मात्रामा भावुक भएर प्रस्तुत हुनु

 

यदि हामीले नियालेर आफूले नियमित रूपमा प्रयोग गर्ने तनाव बहन गर्ने तरिकाहरूको सही अध्ययन र अवलोकन गरेमा हाम्रा तरिकाहरू धेरैजसो सही तरिकाका साथमा केही मात्रामा गलत तरिकाको पनि उपस्थिति हामी पाउछौ । तनाव बहन गर्ने गलत तरिकाहरू प्रयोग गर्दा तत्काललाई राहत प्राप्त हुने भए पनि दीर्घकालीन रूपमा अप्ठेराहरू सृजना हुन्छन् । हामीले स्वमुल्यांकनद्वारा तनाव बहन गर्ने गलत तरिकाहरू लाइ चिनेर यिनलाई परिवतर्न गर्न खोज्नु तनावलार्इ सही तरिकाद्वारा बहन गर्ने दिशातर्फ सही प्रयास हुनेछ ।

आकस्मिक तनावलाई सही निकास दिनु नै पछि उत्पन्न हुन सक्ने भयानक परिणामलार्इ टार्ने उपाय हो । सामाजिक परिस्थितिको नियन्त्रण आफ्नो हातमा नहुन पनि सक्छ । तर सही प्रकारको तनाव बहन गर्ने तरिकाको प्रयोगले परिस्थितिले आफुमा गर्न सक्ने असरचाहिं हामी आफ्नो नियन्त्रणमा पार्न सक्छौं ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !