७ आश्विन २०८१, सोमबार

किन सहज छैन एमआरआई सेवा ? के हो एमआरआई ?


असार २५, काठमाडौं । सिटी स्क्यानबाट पत्ता नलागेको वा द्विविधामा परेको रोग पत्ता लगाउन प्रयोग गरिने म्याग्नेटिक रिसोन्सेस इमाजिङ (एमआरआई)को प्रयोग बढ्दो छ । उपत्यकाका ठूला अस्पतालमा एमआरआईको प्रयोग हुने गरेको छ तर सर्वसाधारणका लागि एमआरआई सहजै र सुलभ मूल्यमा पाउन कठिन छ ।

धेरै बिरामीलाई त एमआरआई ‘आकाशको फल आँखा तरी मर’जस्तै छ । एक त प्रविधि नै महँगो छ भने अर्का्तिर बिरामी सिफारिस गर्ने चिकित्सकलाई दिनुपर्ने कमिसनले एमआरआई सेवा झनै महँगो बनाएको छ । उपत्यकाका केही सरकारी र निजी स्वास्थ्य संस्थाबाहेक केही मेडिकल कलेजसँग पनि एमआरआई सेवा त उपलब्ध छ तर सेवा शुल्कमा भने एकरूपता छैन ।

के हो एमआरआई ?

एमआरआई उच्चस्तरको प्रविधि हो । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेडियोलोजिस्ट डा. डीबी कार्कीका अनुसार चुम्बकीय शक्तिबाट चल्ने अति नै उच्चस्तरको प्रविधिलाई एमआरआई भनिन्छ । यसले स्नायु, मेरुदण्ड, हाडजोर्नी, टाउको, शरीरका विभिन्न नसाको अवस्था पत्ता लगाउन सजिलो हुन्छ । त्यसले सही रूपमा रोग पत्ता लगाई उपचार गर्न सजिलो हुन्छ । ढाड वा कम्मर दुख्ने, घुँडाका रोगी, हाडमा लागेको सङ्क्रमण वा ट्युमरको विशेष जानकारी लिन पनि एमआरआई गर्ने गरिन्छ । मस्तिष्क र मेरुदण्डको ट्युमरको परीक्षण र उपचारका लागि पनि एमआरआई गर्ने गरिन्छ । डा. कार्कीले एमआरआईले नरम तन्तुलाई स्पष्टसँग देखाउने जानकारी दिए ।

आधुनिक एमआरआईमा पेट, स्तन, मुटुको समस्यासमेत स्पष्टसँग पहिचान गर्न सकिन्छ । एमआरआईमा अत्यधिक चुम्बकीय शक्ति हुने भएकाले फलामजन्य धातु, मोबाइल, फोन, घडी, क्रेडिट कार्ड तथा विद्युतीय उपकरण एमआरआई गरिएको स्थानमा लैजान मिल्दैन ।

वीर अस्पतालका पूर्व्निर्देशक तथा वरिष्ठ रेडियोलोजिस्ट डा. स्वयमप्रकाश पण्डितले एमआरआईले सबैजसो रोग पत्ता लगाउन सहयोग गर्ने बताए । उनले कसैको खुट्टा चल्दैन, खुट्टा झमझम गर्छ भने त्यस्तो अवस्थामा पनि एमआरआई प्रयोग गरिने बताउनुभयो । मुख्यतया नसाको रोगमा एमआरआई प्रयोग गर्ने गरिन्छ । थाई, कम्मर तथा अन्य विभिन्न भागको मासुमा ट्युमर पलाएको अवस्थामा समेत एमआरआई प्रयोग गर्न सकिन्छ ।

अत्यधिक महँगो सेवा

विदेशमा विकसित प्रविधि एमआरआई नेपालीका लागि सस्तो भने छैन । डा. पण्डितका अनुसार नेपालमा एमआरआई जडान गर्न आठ करोडदेखि १६ करोड रुपियाँसम्म पर्छ । बिरामीले तिर्ने सेवा शुल्क नै एमआरआईको लागत हो । स्वास्थ्य संस्थाले आर्जन गर्ने चर्को मुनाफाले पनि एमआरआई सस्तो हुँदैन ।

सरकारी अस्पतालमा समेत एमआरआई सुलभ छैन । अस्पतालका अनुसार सातदेखि नौ हजार रुपियाँ शुल्क लाग्छ । निजी क्षेत्रमा एमआरआई झनै बढी महँगो हुने गर्छ । सरकारी अस्पतालमा घर भाडा नपर्ने, चिकित्सक सरकारअन्तर्गत हुने भएकाले थप भत्ता दिइरहनु नपर्ने, मेसिन पनि सरकारले नै खरिद गर्ने हुनाले सरकारीमा केही सस्तो पर्र्ने भए पनि रकम सानो भने होइन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !