नारायण अधिकारी चितवन, ४ असार । आँखाको रोग लागेको थाहा नपाएर र परिवारका मानिसले बेवास्ता गर्दा समुदायमा ठूलो सङ्ख्यामा बालबालिका र वृद्धवृद्धा रोग पालेर बस्न बाध्य रहेका छन् । यी दुवै उमेर समूहलाई अस्पतालसम्म पु¥याउन सहयोगी चाहिने भएकाले उपचारमा कठिनाइ भएको बताइएको छ ।
तीन दशकदेखि आँखा उपचारमा सक्रिय भरतपुर आँखा अस्पतालका चिफ मेडिकल डाइरेक्टर प्रा डा रघुनन्दन बैन्जु बालबालिकासँगै वृद्धवृद्धामा समस्या रहेको बताउनुहुन्छ । बालबालिका बोल्न सक्ने भए पछि एक पटक आँखा जाँच गराउनुपर्ने उहाँको सुझाव छ ।
सात वर्षभित्रमा समस्या पहिचान भएमा जीवनभर आँखा धमिलो बनाएर बस्नु नपर्ने उहाँले बताउनुभयो । चिकित्सकको भनाइमा यस्तो समस्या ग्रामीण क्षेत्रमा चार प्रतिशत र शहरी क्षेत्रमा १० प्रतिशतसम्म देखिने गरेको छ । छड्के आँखाको समस्या पनि केही हदसम्म चस्माले समाधान गर्न सकिने उहाँले जानकारी दिनुभयो । एउटा आँखा हत्केलाले छोपेर पालैपालो आँखा परीक्षण गर्न पनि उहाँले सुझाउनुभयो ।
मधुमेह र उच्च रक्तचाप भएकाले समय समयमा आँखाको परीक्षण गर्नुपर्ने हुन्छ । ४० वर्ष उमेर पुगेपछि त्यस्ता बिरामीको पर्दामा खराबी हुनसक्ने भएकाले समय समयमा परीक्षण गर्न चिकित्सकको सुझाव छ । सामान्यतया मानिसले शरीरको रक्तचाप नाप्ने गरेको भए पनि आँखाको नाप्ने प्रचलन कम छ । समय समयमा आँखाको चाप नाप गरेमा समयमानै समस्या पहिचान गर्न सकिने छ । डा बैन्जुले ६० वर्ष कटेपछि सबैले आँखाको परीक्षण गर्नुपर्छ भन्नुभयो ।
सामान्यतया मानिसलाई उमेर पाको भएसँगै आँखामा समस्या उमेरकै कारण भएको भान हुने गर्दछ तर डा बैन्जु उमेरसँगै हुने मोतियाबिन्दु शल्यक्रिया गरेर पूर्ववत् अवस्थामा फर्काउन सकिने बताउनुहुन्छ । जलबिन्दु देखिएमा त्यस्ता बिरामीलाई समस्या थपिनबाट रोक्न सकिने उहाँको भनाइ थियो । यसका लागि समयमा नै अस्पताल पुग्नुपर्दछ ।
अस्पतालका सूचना अधिकारी रमेश घिमिरे नियमितरुपमा शिविरमार्फत सेवा गरिरहेको भए पनि अपुग भएको बताउनुहुन्छ । अस्पतालले हरेक वर्ष चितवनसहित सात जिल्लाका एक लाख ५० हजार बालबालिकालाई विद्यालयमा नै पुगेर आँखाको परीक्षण गर्ने गरेको घिमिरेको भनाइ छ । छ प्रतिशत हाराहारी बालबालिकामा समस्या देखिने गरेको छ । अस्पतालले एक दिने शिविरमार्फत २० हजार र शल्यक्रिया शिविरमार्फत १५ हजार बिरामीको आँखाको परीक्षण र शल्यक्रिया गर्दै आएको छ ।
यस अस्पताल र सेवा केन्द्रमार्फत हरेक वर्ष एक लाख ७० हजार हाराहारीको आँखा परीक्षण गर्ने गरेको घिमिरेले जानकारी दिनुभयो । अस्पतालका प्रशासक दयाशङ्कर चौधरी मुख्य अस्पताल, सेवा केन्द्र र शिविरमार्फत सेवा पु¥याइरहेको भए पनि जनचेतनाको कमीका कारण रोग पालेर बस्नेको सङ्ख्या धेरै रहेको बताउनुहुन्छ । शिविरमा लिइएको तथ्याङ्कको आधारमा ग्रामीण क्षेत्रमा रोग लिएर बस्नेको सङ्ख्या बढी रहेको उहाँको भनाइ छ ।
आँखा अस्पताल सञ्चालन गर्दै आएको नेपाल नेत्रज्योति सङ्घका सभापति कृष्णराज धरेल स्थानीय तहले समन्वय र आवश्यक सहयोग गरेमा गाउँ गाउँमा शिविरमार्फत उपचार गराउन सकिने बताउनुहुन्छ । स्थानीय तहका जनप्रतिनिधिलाई बजेट विनियोजन गरी अभियानको रुपमा गाउँगाउँमा पुगेर उपचार गर्न अस्पतालले प्रस्तावसमेत गरेको धरेलले जानकारी दिनुभयो । (रासस)