६ मंसिर २०८१, बिहीबार

गाउँमै स्वास्थ्य सेवा पुगेपछि स्थानीयवासी खुशी


।

मुग्लिन, ४ जेठ । गाउँमै स्वास्थ्य सेवा पाउने भएपछि चितवनको इच्छाकामना–३ दारेचोकका बासिन्दामा खुशी छाएको छ । शुक्रबार सामुदायिक स्वास्थ्य एकाइले मूर्तरूप लिएकाले उनीहरु खुशी भएका हुन् ।

सो गाउँपालिका–३ का रामबहादुर गुरुङले पहिलोपटक गाउँमै स्वास्थ्य सेवा पाउँदा खुशीको सीमा नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सामान्य चोटपटक लाग्दा र टाउको दुख्दासमेत तीन घण्टा हिँडेर कुरिनटार वा मुग्लिन जानुपर्ने बाध्यता थियो, अहिले गाउँमै स्वास्थ्य सेवा पाउने भएपछि खुशीको सीमा नै छैन ।”

वडा नं ३ कै चौताराका तीर्थकुमारी गुरुङले उहाँले गाउँमै स्वास्थ्य सेवा शुरु गरेकोमा जनप्रतिनिधिलाई धन्यावाद दिनुभयो । गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले स्वास्थ्य सेवा नपुगेका सबै दुर्गम बस्तीमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरी सेवा दिने कार्यक्रमअन्तर्गत यस वडामा सो एकाइ स्थापना गरिएको र अन्य वडामा पनि चाँडै स्थापना गरिने बताउनुभयो ।

स्वास्थ्य सेवा सञ्चालनका लागि माझगाउँ माध्यमिक विद्यालयले भवन उपलब्ध गराएको छ । चितवनको एक मात्र यस गाउँपालिकाका बासिन्दा भौगोलिक विकटता र गाउँमै स्वास्थ्य संस्था नहुँदा स्वास्थ्य सेवाबाट वञ्चित हुँदै आएका थिए । वडा–वडामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना हुन थालेपछि केहीले राहत महसुस गर्न थालेका छन् । पच्चिस हजार जनसङ्ख्या रहेको यस गाउँपालिकामा सीमान्तकृत चेपाङ र जनजातिको बाहुल्यता छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !