१५ आश्विन २०८१, मंगलबार

उपचारबाट वञ्चित बेवारिसे महिला


न्याय

२१ चैत, सप्तरी । हात्तीको आक्रमणमा परेर घाइते बनेकी एक महिला साढे एक महीनादेखि मृत्युसँग सङ्घर्ष गरिरहेकी छिन् । नाम, ठेगाना, उमेर नखुलेकी ती महिलाको परिवार फेला नपर्दा उपचार र स्याहारको अभावमा एक महीना १२ दिनदेखि मृत्युसँग सङ्घर्ष गरिरहेकी छिन् ।

घाइते बिरामीको पहिचान हुन नसकेकाले उपचार र स्याहारमा समस्या परेको बताउँदै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भावेश रिमालले भन्नुभयो, “हात्तीको आक्रमणले घाइते महिलाको उपचार डिभिजन वन कार्यालय र कोशी टप्पु वन्यजन्तु आरक्षले गर्नुपर्छ ।” प्रनाउ रिमालका अनुसार हात्तीको आक्रमणमा परी घाइते महिलालाई अग्नीसाइर कृष्ण सवरन गाउँपालिका–१ बाट बेवारिसे अवस्थामा फेला पारी प्रहरीले उद्धार गरी गत फागुन ९ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गराएको हो तर, उनको रेखदेख गर्ने कोही छैन ।

वन ऐनको ७१ ख तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको ३ घ मा राष्ट्रिय निकुञ्ज तथा आरक्षभन्दा बाहिर वन्यजन्तुको आक्रमणमा परी धनजनको क्षति भएमा त्यस्तो क्षतिबापत तोकिएबमोजिम राहत दिइनेछ भनी उल्लेख छ तर वन कार्यालय, आरक्ष र जिल्ला प्रशासन कार्यालय यसबारे अनभिज्ञ छन् ।

आफूलाई यसबारे प्रहरीले कुनै जानकारी नगराएकोमा आश्चर्य प्रकट गर्नुहुँदै सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले उनको बारेमा प्रचारप्रसार गरी परिवारको खोजी गरी पुनःस्थापनाको प्रयास गरिने बताउनुभयो । घाइते बिरामी महिलाको आफन्त पत्ता लाग्न नसके उद्धार र उपचारको अन्य विकल्प खोज्नुपर्ने उहाँले बताउनुभयो ।

डिभिजन वन कार्यालय, सप्तरीका प्रमुख धीरेन्द्रप्रसाद सिंहले वन कार्यालय र प्रहरीको उद्धारमा अस्पताल भर्ना भएकी महिला सञ्चो भएर घर फर्किसकेको बताउनुभएको थियो । तर बिरामीको घरपरिवार नै पत्ता नलागेको र भाँचिएको हातसमेत आर्थिक अभावमा नजोडिएको बताएपछि सिंहले कुरा फेर्दे भन्नुभयो, “बिरामी करीब ठीक भइसकेको थियो, बिरामी अवस्थामै रहेछ भने औषधोपचारको खर्च तत्कालै उपलब्ध गराउनेछौँ ।” उहाँले थप्नुभयो, “वन कार्यालयले बिरामीको पूरै निगरानी राख्न सक्दैन, कुरुवा पनि राख्न सक्दैन तर औषधोपचारको खर्च व्यहोछ ।”

अस्पतालले भने घाइते बेवारिसे महिलालाई प्रहरीले अस्पतालमा ल्याएर छाडेपछि कोही पनि फर्केर नआएको र औषधोपचारमा कसैले पनि सहयोग नगरेकाले भाँचिएको हातमा स्टिल लगाउन नसकेको जनाएको छ । बिरामीको प्राथमिक उपचार गरिए पनि भाँचिएको हात जोड्न लगाउनु पर्ने स्टिलको खर्च कतैबाट उपलब्ध नभएको आकस्मिक विभागका इञ्चार्ज धनेश्वर साहले बताउनुभयो ।

सामान्य प्लाष्टर हटाएर एक्सरे गर्दा हात नजोडिएको देखिएकाले स्टिल नै लगाउनु पर्ने र त्यस्का लागि करीब १० हजार लाग्ने उहाँले जानकारी दिनुभयो । बिरामीको थप उपचारको आवश्यक्ता रहे पनि बाहिर पठाउन नसकिएको भन्नुहुँदै अस्पतालकी सिनियर स्टाफ नर्स लक्ष्मी चौधरीले सरसफाइ र खानाको कमीले बिरामी कमजोर बन्दै गएको बताउनुभयो ।

दाहिने हात भाँचिएकी घाइते महिलाको छाती, तिघ्रामा समेत चोट लागेको छ । केही बताउन नसक्ने उनी हिंडडुल गर्न पनि सक्दिनन् । छेउका अन्य बिरामी हेर्न आउनेले दया गरी दिएको बिस्कुट, फलफूल पाए खान्छिन् नभए भोकै, प्यासै सुत्छिन् । दिसापिसाब आएको पनि चाल नपाउने उनको खुट्टामा उनकै दिसा कटकटिएर सुकेको छ । साढे एक महीनादेखि एउटै लुगामा रहेकी उनको कम्मरबाट खुस्किएको पेटिकोट झरेकाले उनको लाज छोपी दिन अन्य बिरामीका कुरुवाले माथिबाट तन्नाले ढाकी दिने गर्छन् । उनलाई शौचालयको छेउ एकान्तमा चिसो भुइँमा सुताइएको छ ।

बेवारिसे बिरामीलाई ल्याउने प्रहरीले घरठेगाना पत्ता लगाउन भने ध्यान नदिने गरेको अस्पतालका कर्मचारीको गुनासो छ । अस्पतालमा आधारित एकद्वार सङ्कट व्यवस्थापन केन्द्रकी ‘फोकल पर्सन’ मनिषा सिम्खडाले अस्पताल ल्याइदिएर मात्र प्रहरीको जिम्मेवारी पुरा नहुने बताउनुभयो । घाइते बिरामीको नाम, ठेगाना पत्ता नलाग्दा कुनै पनि स्थानीय निकायले अभिभावकत्व ग्रहण नगर्ने भएकाले पुनःस्थापना केन्द्र पठाउन पनि नसकिएको उहाँले बताउनुभयो ।

अस्पतालले प्राथमिक उपचार गरिरहे पनि थप उपचार, सरसफाइ उचित खानपिनको व्यवस्था हुन नसक्दा उनी जीवनमरणको सङ्घर्षमा छटपटाइ रहेकी छिन् ।

नेपालको संविधानको धारा ३५ ले स्वास्थ्यसम्बन्धी हक, धारा ३६ ले खाद्यसम्बन्धी हक र धारा ४३ ले सामाजिक सुरक्षाको हक प्रत्याभूत गरे पनि आर्थिकरूपले विपन्न, अशक्त, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने अपाङ्गता भएकी असहाय महिलाले कानूनबमोजिम कुनै पनि अधिकार उपभोग गर्न पाएकी छैनन् । सम्बन्धित निकाय, स्थानीय प्रतिनिधि, प्रशासन र राज्यसमेत बेखबर छन् ।

स्वर्णधारी अजितको गृहनगरमा स्वागत

तेस्रो एशियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा स्वर्ण पदक विजेता अजितकुमार यादव गृहनगर राजविराजमा बुधबार सम्मानित भएका छन् ।

राजविराज नगरपालिकाले नगद रु एक लाख एक हजारसहित यादवलाई सम्मान गरेको हो । नगरप्रमुख शम्भुप्रसाद यादवले स्वर्णधारी यादवलाई नगरपालिकाको तर्फबाट रु एक लाख एक हजार हस्तान्तरण गर्नुका साथै आफ्नो मासिक तलब बराबरको रु ३५ हजारसमेत प्रदान गर्नुभयो ।

यसैगरी नगरपालिका–१२ का वडाध्यक्ष हरिहर यादवले रु १५ हजार र छिन्नमस्ता गाविसका पूर्वअध्यक्ष सत्यनारायण यादवले रु पाँच हजार १०० प्रदान गर्नुभयो । तिलाठी कोइलाडी गाउँपालिकाले नगद रु ५१ हजार तथा जन्मस्थान रहेको नगरपालिका–१३ ले रु १० हजार प्रदान गर्ने घोषणा गरेका छन् ।

स्वर्णधारी अजितलाई स्वागत तथा सम्मान गर्न नगरवासी ठूलो सङ्ख्यामा भेला भएका थिए । नगरपालिका कार्यालयले मालाले सजिएको गाडीमा अजितसहित उनका परिवारलाई राखेर बाजागाजासहित नगर परिक्रमा गरेको छ ।

स्वर्णधारी अजितले यस्तो सम्मानले आगामी दिनमा अझै राम्रो प्रदर्शन गर्न हौसला मिल्ने बताउनुभयो । अवसरमा पाएमा नेपालका कुनाकुनामा रहेका धेरै प्रतिभाले देशको नाम चम्काउन सक्ने भन्दै उहाँले नेपालमा अन्तर्राष्ट्रिय रङ्गशाला बनेमा उत्कृष्ट खेलाडी उत्पादन हुने बताउनुभयो ।

एशियालीस्तरमा एथलेटिक्समा नेपाललाई स्वर्ण पदक दिलाउने अजित पहिलो खेलाडी हुन् । यादवले हालै हङकङमा सम्पन्न तीन हजार मिटरको दौडमा पहिलो स्थान हात पार्नुभएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !