२८ कार्तिक २०८१, बुधबार

खोटाङमा अनौठो रोगः दुईको मृत्यु, चार ओछ्यानमा


१५ चैत, खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित रामपुरका वीरबहादुर विश्वकर्माका परिवारमा ठूलो समस्या देखापरेको छ । कम्मरमुनिको अङ्ग नचल्ने रोगले दुई जना छोरीको मृत्यु हुनुका साथै चार छोराछोरी थला परेपछि ठूलो समस्या देखापरेको हो ।

तीस वर्षीया माइली छोरी कोपिला, २२ वर्षीया जन्तरी अनिशा, २० वर्षीया लखन्तरी मनिषा र कक्षा ९ मा अध्ययनरत कान्छा छोरा चेतराज विश्वकर्माको कम्मरमुनिको भागमा समस्या देखिएको छ । कम्मरमुनिको भाग नचलेपछि जबर्जस्ती हिँड्ने क्रममा अँगेनामा पर्दा मनिषाको खुट्टामा घाउसमेत भएको छ ।

जम्मा १३ छोराछोरी जन्मिएका विश्वकर्मा परिवारमा चार छोराछोरीको मृत्यु भइसकेको छ । बाइस वर्षको उमेरमा साइली शर्मिला र २५ वर्षको उमेरमा काइली उषाको कम्मरमुनिको भाग नचल्ने रोगकै कारण मृत्यु भएको हो ।

विश्वकर्मा परिवारमा अहिले पाँच छोरी र चार छोरा छन् । दुईको सानै उमेरमा मृत्यु भएको विश्वकर्मा परिवारले बताएका छन् । पाँच छोरीमा जेठी छोरी सङ्गीता र कान्छी छोरी अस्मिता तथा जेठा छोरा राजेन्द्र, माइला ईन्द्रकुमार र साइला कृष्णमा अहिलेसम्म रोग देखापरेको छैन । सङ्गीता विवाह गरेर पराइ घर गइसकेकी छिन् । कान्छी पढ्दै छिन् । कमजोर आर्थिक अवस्थाका विश्वकर्मा परिवारमा यस्तो समस्या माइली छोरी कोपिलाबाट शुरुआत भएको स्थानीयवासी तथा जनता आधारभूत विद्यालय नेर्पाका प्रधानाध्यापक झमप्रसाद आचार्यले बताउनुभयो ।

“शुरुमा सपाङ्ग नै विद्यालय आउथे”, उहाँले भन्नुभयो, “पढाइमा पनि अब्बल नै हुन्थे, बिस्तारै पाँच÷छ कक्षा पुगेपछि त्यस्तो समस्या पर्न थालेपछि विद्यालय छाडेर बस्ने गरेका छन् ।” हिँड्ने क्रममा खुट्टा नलाग्ने, लाटिएर ढल्ने, भनेको समयमा भनेको ठाउँमा खुट्टा नपुग्ने, खुट्टाले टेक्न नमान्ने समस्याले कोपिला त थला नै बसिसकेकी छिन् । उनलाई कक्षा ५ पढ्दादेखि उक्त समस्या शुरु भएको आमा लक्ष्मीमायाँले बताउनुभयो । बाल्यकालमा अरु जस्तै सपाङ्ग जीवन बिताइरहेकी कोपिलालाई अहिले शौचालय लैजान तथा एक स्थानबाट अर्को स्थानमा लैजान आमाले बोकेर लानुपर्छ ।

कम्मरमुनिको भाग नचल्ने समस्या कोपिलामा शुरु भएको १२ वर्ष पुगेको बुबा वीरबहादुरले बताउनुभयो । “यही समस्या अन्य छोराछोरीमा पनि सर्दै गएको छ”, उहाँले भन्नुभयो, “आर्थिक समस्याले उपचारमा लैजान नसक्दा थप दुई छोरीको पनि अवस्था जटिल बन्दै गएको छ ।” अनिशा र मनिषाले एसइईसम्मको अध्ययन पूरा गरेकी छन् । अनिशामा कम्मरमुनिको अङ्ग नचल्ने समस्या देखिएको पाँच वर्ष भएको पारिवारले जनाएको छ ।

सोही समस्या मनिषामा देखापरेको दुई वर्ष भयो । अनिशा, मनिषा र कोपिलालाई अहिले आमाले नै डोहो¥याएर घरभित्र÷बाहिर गराउनुका साथै शौचालय लानुपर्ने बाध्यता छ । बोल्न, खान र बस्न सक्ने अवस्थाका उनीहरुको हेरचाह वृद्धा आमाले गर्नुहुन्छ । कान्छा छोरा चेतराज पनि अहिले सहज तरिकाले हिँडडुल गर्न सक्दैनन् । हिँड्दा उनको खुट्टाले भर दिन्न, काम्ने, लरबराउँछ । उनलाई कम्मरमुनिको भाग चलाएर हिँड्न धेरै सकस हुन्छ ।

माइली छोरीबाट शुरु भएको कम्मरमुनिको भाग नचल्ने समस्या बिस्तारै उनीहरुको परिवारका सबै सदस्यमा देखिने सम्भावना रहेको छिमेकी बताउँछन् । खेतीपातीबाहेक आयस्रोतको अन्य विकल्प नभएको विश्वकर्मा परिवारमा एक्कासी उक्त समस्या देखापरेपछि बिचल्ली भएको छ । उनीहरुमा देखिएको समस्याको उपचार नेपालमा सम्भव नहुने स्वास्थ्यकर्मीले बताएको आफन्त तथा नगरकार्यपालिका सदस्य गङ्गाबहादुर विश्वकर्माले बताउनुभयो ।

भारतको गङ्गाराम अस्पतालमा मात्र उपचार हुने उनीहरुका लागि प्रतिव्यक्ति रु आठ लाख लाग्ने बताएपछि झनै समस्या भएको बताइएको छ । अहिलेसम्म राज्यकोतर्फबाट कुनै सुविधा नपाएका पीडित विश्वकर्मा परिवारलाई नेपाली साझा मञ्चकी कार्यवाहक अध्यक्ष शारदा भुसालले नगद रु १० हजारसहित लत्ताकपडा उपलब्ध गराउनुभएको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेल र प्रहरी नायब उपरीक्षक राजकुमार केसीसहित पीडित परिवारको घरमा पुग्नुभएका कार्यवाहक अध्यक्ष भुसालले थप उपचारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । अहिलेसम्म नेपाली नागरिकता र अपाङ्गता परिचयपत्रसमेत नपाएका पीडित परिवारलाई घरैमा नागरिकता र अपाङ्गता परिचयपत्र लगेर वितरण गर्ने प्रजिअ पौडेलले आश्वासन दिनुभएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !