११ मंसिर २०८१, मंगलबार

गाउँमै आँखा शिविर


eye

२० माघ, लम्की । स्थानीय बासिन्दालाई गाउँमै उपचार सेवा दिने उद्देश्यले कैलालीको लम्कीस्थित भुरुवामा निःशुल्क आँखा उपचार शिविर आयोजना भएको छ । शिविरमा एक दिनमै शनिबार एक हजार ५७५ ले सेवा लिएका छन् ।

“गाउँमा पहिलो पटक निःशुल्क शिविर आयोजना भयो, गाउँमै उपचार पाइने भएपछि स्थानीयवासी खुशीसाथ उपचार गराएका छन्”, स्थानीयवासी देवानन्द जैसीले भन्नुभयो, ‘‘यहाँका मानिसले उपचार सेवा लिन टीकापुर या धनगढी जानुपर्ने बाध्यता छ ।”

किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लम्की र च्यारिटी अफ हेल्थ सोसाइटीको आयोजना तथा धनगढी नेत्रालयको प्रविधिक सहयोगमा आँखा शिविर आयोजना गरिएको हो । “स्थानीयवासीको समस्यालाई ध्यानमा राखेर आँखा शिविर गर्ने निर्णय लियौँ, एक हजार ५७५ ले निःशुल्क उपचार सेवा लिए”, किसान सहकारी संस्था लम्कीका महाप्रबन्धक डम्बर शाहले भन्नुभयो, “उपचार सेवा लिनेमा ९४५ महिला र ६३० पुरुष छन् ।”

शिविरमा उपचार गराएका मध्ये २६२ लाई आँखाको मोतियाविन्दु र मासु पलाएको भेटिएकाले थप उपचारका लागि निःशुल्क शल्यक्रिया गर्न धनगढी सिफारिश गरिएको छ । शिविरमा आँखा जाँच गर्न आएका ५९० लाई निःशुल्क चश्मासमेत वितरण गरिएको थियो ।

ब्राउनसुगरसहित महिला पक्राउ

तेइस ग्राम ब्राउनसुगरसहित कैलालीको जानकी गाउँपालिका–५ अमौरीबाट एक महिला पकाउ परेकी छन् । भारतको तिकुनियाबाट लुकाइछिपाइ लम्कीतर्फ ल्याउँदै गरेको अवस्थामा लागुऔषध ब्राउनसुगरसहित ती महिलालाई इलाका प्रहरी लम्कीले शनिबार पक्राउ गरेको हो ।

लम्कीचुहा नगरपालिका–१ राजीपुरकी तारा शाहीलाई से७प २५५९ नंको स्कुटरसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र जोशीले जानकारी दिनुभयो । लागुऔषधसहित पक्राउ परेकी शाहीलाई प्रहरीले जिल्ला चलान गरेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !