१० मंसिर २०८१, सोमबार

खानेपानीको समस्या


Water supply

११ कात्तिक, राजविराज । सप्तरीको बोदेबरसाइनमा खानेपानीको समस्याले स्थानीय बासिन्दा अशुद्ध पानी पिउन बाध्य भएका छन् । सप्तरी सदरमुकाम राजविराजदेखि २० किलोमिटर पश्चिममा पर्ने उक्त ठाउँमा विगत लामो समयदेखि खानेपानीको अभाव भएको छ ।

सो बजार क्षेत्रलगायत आसपासका अधिकांश गाउँघरमा खानेपानीको ट्युबेलमा आइरनयुक्त पानी आउने गरेकाले शुद्ध पानी खानबाट बञ्चित भएको स्थानीय रोशन गोइतले गुनासो गर्नुभयो ।

खानेपानीको उचित व्यवस्था नभएकाले यहाँका करीब ९० प्रतिशत ट्युबेलमा आइरनयुक्त पानी खान बाध्य छन् । जोगिया, बराहा, सारसर, नेङडा, धनगढी, काचन, देउरी, फुलकाही खडकपुर, मानराजा र लागपुरलगायत दर्जनौँ गाउँको ट्युबेलमा आइरनयुक्त पानी आउने गरेकाले शुद्ध पानी खानबाट ती क्षेत्रका बासिन्दा बञ्चित छन् ।

यस्तै जिल्लाको खडक नगरपालिकास्थित कल्यानपुरमा समेत खानेपानीको अभाव भएको छ । पूर्व–पश्चिम राजमार्गसँग जोडिएको कल्यानपुरमा खानेपानीको अभाव भएको स्थानीय वीरेन्द्र साहले बताउनुभयो ।
पानीको मुहानसमेत सुक्न थालेपछि खानेपानीको अभाव भएको हो । सो क्षेत्रमा खानेपानीको काम शुरु नभएका कारण पनि त्यहाँका जनता खानेपानीबाट बञ्चित भएको उहाँले बताउनुभयो ।

एक हजार गाँजाको बोट नष्ट

सप्तरीमा गाँजाखेतीको सङ्ख्यामा वृद्धि भएपछि प्रहरीले गाँजा फडानी गर्ने अभियानलाई निरन्तरता दिएको छ । पछिलो पटक जिल्ला प्रहरी कार्यालय सप्तरी र वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरीको गस्ती टोलीले राजविराज नगरपालिका–१२ मा लगाइएको एक हजार गाँजाको बोट नष्ट गरिएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !