काठमाडौं । डा. गोविन्द केसीले तीनदिने अनशन तोडेका छन् । धनगढीको गेटा मेडिकल कलेजमा उपचाररत बिरामी प्रीतम चौधरीको हातबाट जुस पिएर मंगलबार दिउँसो २ बजे केसीले अनशन तोडेको उनका सहयोगी अमृत जैशीले जानकारी दिए ।
गत आइतबारदेखि अनसन बसेका डा. केसीको स्वास्थ्यमा समस्या बढ्दै गएको थियो । मंगलबार बिहान केसीको मुटुको चालमा गडबडी देखिएको उनका सहयोगी डा. जैसीले बताए ।
केसीले इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्नुपर्ने, कैलालीको गेटामा निर्माण सम्पन्न भइसकेको शिक्षण अस्पताल र शैक्षिक कार्यक्रम तत्काल सञ्चालन गर्नुपर्ने, निजी मेडिकल कलेजको सिट वृद्धि फिर्ता गर्नुपर्नेलगायत माग राखेका छन् ।
डा. केसीले निजी मेडिकल कलेजको सिट वृद्धि लगायत निर्णयको विरोध गर्दै गत आइतबार दिँउसोदेखि सत्याग्रह सुरु गरेका हुन् ।












