१ फाल्गुन २०८२, शुक्रबार

थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव सङ्कलन


प्रदीप पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले थाइल्याण्डमा क्रियाशील स्वास्थ्य नीति निर्माता, बौद्धिक तथा अध्ययनरत मेडिकल विद्यार्थीसँग नेपालको स्वास्थ्य क्षेत्रमा थाइल्याण्डको अनुभवबाट गर्न सकिने सुधारबारे सुझाव लिएका छन् । जनसङ्ख्या नीतिसम्बद्ध संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय बैठकमा सहभागी हुन बैङ्कक पुग्नुभएका मन्त्री पौडेलले त्यहाँ क्रियाशील नेपालीसँग छलफल गरेका हुन् ।

नेपाली राजदूतावासको आयोजनामा बैङ्ककमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले थाइल्याण्डको स्वास्थ्योपचार प्रणाली, मेडिकल शिक्षा तथा स्वास्थ्य बिमाका बारेमा थाइल्याण्डको अनुभवबारे नेपाली समुदायसँग सुझाव सङ्कलन गरेका हुन् ।

मन्त्री पौडेलले अहिले मन्त्रालयले स्वास्थ्योपचार सेवा सुधार तथा विस्तारसँगै स्वास्थ्य बिमामा नीतिगत सुधारसम्बन्धी निर्णय गरेर कार्यान्वयनतर्फ अघि बढिरहेको भन्दै दुवै देशको परिस्थितिबारे जानकार नेपालीहरूबाट प्राप्त अनुभव आगामी दिनमा थप उपयोगी हुने विश्वास गरे । “हामी अहिलेकै स्रोतमा सुधार गरेर नागरिकलाई बढी सेवा दिन प्रयत्नशील छौँ”, मन्त्री पौडेलले भने, “तपाईँहरूको अनुभव हाम्रा लागि उपयोगी बन्न सक्छ ।”

नेपाली राजदूत धनप्रसाद ओलीले थाइल्याण्डमा चिकित्सा उच्च शिक्षा, चिकित्सा अभ्यास तथा नीति निर्माणसँगै व्यवसायमा संलग्न रहेको भन्दै उनीहरूको अनुभव आदानप्रदानले आगामी दिनमा थप सम्भावना र सहकार्यको मार्गप्रशस्त गर्ने बताए ।

अन्तक्र्रियामा सहभागी स्वास्थ्य सेवाप्रदायक एप निर्माणमा संलग्न नेपालीहरूले आफ्नो सेवा स्वदेशमा विस्तारमा तयार रहेको बताए । साथै, सहभागी स्वास्थ्य बिमाका जानकारहरूले थाइल्याण्डको अभ्यासबारे जानकारी गराएका थिए ।

मन्त्री पौडेलले संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय बैठकमा नेपालका तर्फबाट सम्बोधन तथा छलफलमा सहभागिता जनाउनेछन् । मन्त्री पौडेलले गैरआवासीय नेपालीहरूसँग पनि अन्तक्र्रिया गर्ने मन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !