१९ असार, ललितपुर । ललित ब्यासले अहिलेसम्म ५९ पटक रक्तदान गर्नुभयो ।
उहाँबाट प्रेरित भएर उहाँकी छोरीले उमेर पुग्नासाथ (१८ वर्षदेखि) रक्तदान गर्न थाल्नुभयो । नेगेटिभ समूहको रगतको माग हुँदा उहाँले दिइरहनुभयो । रक्तअल्पता हुँदासमेत उहाँले रक्तदान गर्न नछाडेको बाबु ब्यास बताउनुहुन्छ ।
शरीरमा रगतको निकै कमी भएपछि मात्रै छोरीलाई रक्तअल्पता भएको आफूले पत्तो पाएको ब्यास बताउनुहुन्छ । उहाँ भन्न्ुहुन्छ, “पत्ता लाग्नासाथ उपचार गरेर मात्रै नत्र उनको अवस्था खराब भइसकेको रहेछ ।” रक्तदाता रगत दिन सक्ने छ÷छैन भनेर जाँच नगरी रगत लिँदा रक्तदातामा परेको असरको यो एउटा उदाहरण हो ।
अरुलाई ज्यान बचाउने रक्तदाता आफ्नै ज्यान जोखिममा पर्ने घटना दोहोरिइरहेको रक्तदाता बताउँछन् । नेपालमा रक्तदाताको स्वास्थ्य जाँच नै नगरी रगत लिँदा धेरै रक्तदातामा विभिन्न किसिमका स्वास्थ्य समस्या आइरहेका छन् ।
रगत आवश्यक पर्ने व्यक्तिलाई रगत हाल्नु अघि जाँच गरेपनि रक्तदातासँग रगत लिनु अघि जाँच नहुने रक्तदाताको गुनासो छ । कमजोर स्वास्थ्य अवस्थामा समेत रक्तदान गर्दा रक्तदाताको स्वास्थ्य थप बिग्रिन सक्छ ।
अर्का रक्तदाता भानु रोशन राजभण्डारीले जस्तोसुकै धुलो र फोहरमा समेत रक्तदान भइरहेको बताउनुभयो । कलंकीलगायत राजधानी काठमाडौँका धुलो अत्यधिक हुने स्थानमा समेत रक्तदान कार्यक्रम सञ्चालन हुँदै आएको छ । फोहर स्थानमा रक्तदान हुँदा रगत लिने र दिने दुवैको स्वास्थ्यमा असर गर्छ । उहाँ भन्नुहुन्छ, “सफा ठाउँमा रक्तदान नहुँदा एकातिर रगत दिनेको स्वास्थ्यमा असर गर्छ भने रगत लिनेले पनि सफा पाउँदैन ।” रक्तदानका लागि न्यूनतम वातावरणीय सफाइको मापदण्ड हुनुपर्नेमा उहाँको जोड छ ।
नेपालमा बिरामीलाई आवश्यक पर्दा रगतको अभाव छ । माग र रगतको आपूर्तिका बीचको खाडलका कारण वर्षेनी रगतको अभाव भइरहेको हो । धेरै वर्ष पहिलेदेखि देखिएको अभावको अवस्थामा खासै सुधार भएको छैन । रगतको अभाव पूर्ति गर्न भन्दै धेरै सरकारी, गैरसरकारी वा निजी संस्थाले विभिन्न अवसर पारेर रक्तदान कार्यक्रम सञ्चालन गर्छन् ।
रगत संकलनका लागि रेडक्रस सोसाइटीबाट प्रतिनिधि ती स्थानमा पुग्छन् । रक्तदाताको स्वास्थ्य अवस्थाको जाँच ती स्थानमा जाँच हुँदैन । नियमित रक्तदाता भन्छन्, “यसले रगतको अभाव त कम गर्ला तर रक्तदाताको स्वास्थ्य अझै खराब हुन सक्छ ।” कतिपय रक्तदाता रक्तदानपछि थप बिरामी भएका घटना धेरै छन् । स्वास्थ्य संस्थामा नै रक्तदान गर्दासमेत रक्तदाताको सामान्यसमेत स्वास्थ्य जाँच हुँदैन ।
रक्तदाताले धेरै पटक रक्तदान गरेकालाई समेत सरकारले सम्मान र सहुलियत नदिएको गुनासो गर्दै आएका छन् । व्यक्तिले आफूले यति पटक रक्तदान गरेको भने पनि कसले कति रगत लियो र कसले कति दियो भन्ने तथ्यांक नभएको अर्का रक्तदाता भक्त भट्टराईले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले दिएको रगत कति प्रयोग भयो भन्ने हामीले जान्न पाउनुपर्छ ।” रक्तदाताको सम्मान गर्दा मात्रै नयाँ रक्तदाता थप्न सकिने उहाँ बताउनुहुन्छ ।
एकपटक रक्तदान गरेका व्यक्ति पटकपटक गर्छन् । तर पहिलो पटक रक्तदान गराउन गाह्रो हुन्छ । ५० पटक भन्दा बढी रक्तदान गरेकालाई आ–आफ्नो ठाउँमा रक्तदानका लागि प्रेरित गर्न लगाउनुपर्ने राजेन्द्र सुनुवार बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामी आफ्ना क्षेत्रमा खटिनका लागि तयार छौँ ।”
दुर्घटना, प्रसूति, क्यान्सरका बिरामी र शरीरमा रगतको कमी भएका बिरामीलाई रगतको बढी आवश्यकता पर्छ । विभिन्न संस्थाले नियमित र कतिपयले विभिन्न अवसरमा रक्तदान कार्यक्रम गर्दै आएका छन् । नेपालमा अझै पनि मागअनुसारको रगत छैन । रक्तदाताले निःस्वार्थ भावनाले निःशुल्करुपमा रक्तदान गरेपनि रगत लिन चाहने व्यक्तिले निःशुल्क पाउँदैनन् । थोरै शुल्क लिँदै आएकामा पूर्णरुपमा निःशुल्क हुनुपर्नेमा रक्तदाताको माग छ ।(रासस)