१० आश्विन २०८१, बिहीबार

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल बिरामीमैत्री बन्नुपर्छ : कार्यवाहक प्रधानमन्त्री सिंह


प्रकाशमान सिंह फाइल फोटो

चितवन । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले क्यान्सरको उपचार, पहिचान, निदान र सचेतनामा सशक्त भएर लाग्न क्यान्सर अस्पतालका चिकित्सक एवं कर्मचारीहरुलाई निर्देशन दिएका छन्।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २५ औँ वार्षिकोत्सव तथा २०औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सीमित स्रोत र साधनका बाबजुद पनि अस्पतालले गरेको प्रगति प्रशंसनीय रहेको बताए।

अस्पतालले गर्ने कार्यहरु नेपाल सरकारको नीतिअनुसार बिरामीमैत्री बन्नुपर्ने उनको भनाइ थियो। उनले भने, ‘नेपालमा सबै क्यान्सर रोगको उपचार सम्भावना हुनेगरी कार्य गर्ने सङ्कल्प र प्रतिबद्धता आएको छ, धन्यवाद दिन चाहन्छु।’

अस्पतालमा सबै प्रकारका रोगको उपचारका लागि आवश्यक पर्ने लिन्याक र सिटी सिमुलेटरको उपकरण खरिद गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने उपप्रधानएवं सहरी विकासमन्त्री सिंहले बताए। उनले भने, ‘यो अस्पताल क्यान्सर रोगको उपचराका लागि विदेसिनु नपरोस् भन्ने उद्देश्यका साथ स्थापना गरिएको हो। यसलाई अझै सशक्त बनाउन आवश्यक रहेको छ।’

बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले यो अस्पताल देशको लाइफलाइन अस्पतालका रुपमा रहेको बताए। क्यान्सरको उपचारका लागि प्रथम विन्दुका रुपमा रहेका जनाउँदै उनले सवल र उत्कृष्ट उपचारले रोग निको हुने बताए। उनले भने, ‘अस्पतालले उत्कृष्ट सेवा बिस्तार र जनताले सहज उपचार पाउनुपर्छ।’

नेपाली समाजमा क्यान्सर रोग लागेपछि लुकाएर राख्ने र समयमा उपचारका लागि नआउने प्रचलनका कारण मानिसहरुको मृत्यु हुने गरेको उनको भनाइ थियो।

अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले नेपालमा रहेका क्यान्सर रोगका बिरामीमध्ये ५० देखि ६० प्रतिशतको उपचार यस अस्पतालमा हुने गरेको बताए। बीस प्रतिशत नेपालका अन्य अस्पतलाहरुमा र २० प्रतिशत छिमेकी राष्ट्रसहित अन्य मुलुकमा उपचारका लागि जाने गरेको उनले जानकारी दिए। भविष्यमा यस अस्पताललाई ७०० शय्याको बनाउने योजना रहेको डा. पौडेलको भनाइ छ।

अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या वार्षिक रुपमा बढ्दै गएको उनले बए। उनका अनुसार आर्थिक वर्ष २०७९/०८० मा एक लाख ६६ हजार २०० बिरामीले उपचार गराएको यस अस्पतालमा गत आर्थिक वर्ष २०८०/८१ मा एक लाख ८८ हजार ५१४ जनाले सेवा लिएका छन्। जसमध्ये ६ हजार ७९५ नयाँ क्यान्सरका बिरामी रहेको उनले बताए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !