नवलपुर । आजकल डाक्टरले लेखेको प्रिस्क्रिप्सन स्पष्ट रुपमा नबुझिने हुनाले धेरै समस्या उत्पन्न हुने गरेको छ । औषधि पसलमा डाक्टरले लेखेको प्रिस्क्रिप्सनको अक्षर बुझ्न नसक्दा कहिलेकाही गलत औषधि पर्न जाँदा मानिसको ज्यान जाने खतरा हुनसक्छ ।
त्यसैले डाक्टरले औषधिको प्रिस्क्रिप्सन लेख्दा प्रष्ट बुझ्नेगरी लेखेको हुनुपर्छ । तर प्रायजसो डाक्टरले कमिसनको लागि आफूले सधैं पठाउने एउटा क्लिनिकले मात्र बुझ्ने प्रिस्क्रिप्सन लेख्ने गरेको पाइएको छ, जुन सरासर गलत हो । डाक्टरले लेखेको प्रिस्क्रिप्सन एउटा क्लिनिकले मात्र बुझ्नुपर्ने वाध्यताको अन्त हुन सके हरेक विरामीलाई नजिकैको फार्मेसीबाट पनि औषधि लिन सहज हुने देखिन्छ ।
यो समस्या नेपाल मात्र होइन, छिमेकी राष्ट्र भारतमा पनि देखिएको थियो तर अहिले सुधार भएको छ । हाम्रो देशमा यसको सुधार हुन सकेको छैन । सामान्य औषधि खरिद गर्न सम्वन्धित क्लिनिक हस्पिटल धाउनुपर्ने झन्झट हटाउन सके राम्रो हुनेछ ।
आज एउटा प्रिस्क्रिप्सनबारे नयाँ जानकारी पस्कन जादैछु । डाक्टरको प्रिस्क्रिप्सन अरूले सकेसम्म नबुझुन भन्ने उद्धेश्यले राइटिङ लेखिएको हुने गर्दछ । तर यसरी लेखेको राइटिङ एउटा फार्मेसीलाई लक्षित गरि लेखेको हुने रहेछ ।
औषधि खरिद गर्दा अर्को महत्त्वपूर्ण जानकारी बुझ्न जरुरी छ । औषधिको बट्टामा इण्डियन फार्माकोपिया छ तर औषधि खरिद गर्दा बिटिस फार्माकोपियाको औषधि भएपनि केही फरक नहुने भएतापनि खरिदकर्ताको मानसिकतामा फरक पाइएको छ ।
हामी सामाजिक प्राणी हौँ । हामीसंग प्रयाप्त रकम नहुनसक्छ । सामान्य कुराले ठूलो खर्च हुन नदिनु राम्रो हो । यस्ता विषयमा विषेश ध्यान दिन जरुरी महसुस भएको छ । हाम्रो सानो स्वार्थले अरूलाई दुःख दिनु गलत हो जस्तो लाग्छ ।
नेपालका केही हस्पिटलहरूमा औषधि टाइप गरेर दिने सिस्टम बनेकोले फार्मासिष्टलाई समेत सहज हुने देखिएको छ । औषधि जीवन हो गलत परे मृत्युसम्म पुर्याउन सक्छ । यस्ता विषयमा सवैको ध्यान पुग्न जरुरी छ ।