९ पुस २०८१, मंगलबार

९२ हजार स्वास्थ्यकर्मीको आवश्यकता छ, ३२ हजार पूर्ति गर्न पहल गर्दैछौँ : स्वास्थ्यमन्त्री बस्नेत


मोहनबहादुर बस्नेत फाइल फोटो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा ९२ हजार कर्मचारीको आवश्यकता रहेको बताएका छन् ।

बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले आफ्नो धेरै पहलले प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री डा. प्रकाशशरण महत स्वास्थ्य क्षेत्रमा ३२ हजार कर्मचारी पूर्ति गर्न सकारात्मक रहेको बताए ।

उनले २०५४ सालेदेखि स्वास्थ्य मन्त्रालयले कर्मचारीको दरबन्दी बढाउन नसकेको जिकिर गरे । स्वास्थ्यकर्मीहरूको अभावका कारण आधारभूत र गुणस्तरीय सेवा प्रदान गर्न नसकिएको बताए ।

उनले अहिले गाउँहरू बसाइँसराइको कारण रित्तिसकेको बताए । सामान्य रोग लाग्दा पनि विशिष्ट व्यक्तिहरू विदेश जाने कुराको अन्त्य गर्न आवश्यक रहेको भन्दै नेपालमै उपचार सम्भव हुँदा विदेश गएर उपचार गर्नेहरूको उपचार खर्च सरकारले नव्यहोर्ने बताए ।

स्वास्थ्यमन्त्री बस्नेतले भने, “२०५४ सालेदेखि स्वास्थ्य मन्त्रालयले कर्मचारीको दरबन्दी सकेको छैन । एकजनाले दुईदेखि चारजनासम्मलाई हेर्नुपरेको छ । कसरी आधारभूत र गुणस्तरीय स्वास्थ्य सेवा पुग्नसक्छ । चाहेर पनि हुनसक्दैन । हामीलाई ९२ हजार कर्मचारी चाहिने रहेछ । तर कम्तीमा पनि ३२ हजार कर्मचारी नभइ हुँदैन भनेर म कराको कराइ छु । यसमा प्रधानमन्त्री र अर्थमन्त्रीज्यू पोजेटिभ हुनुभएको छ ।”

स्वास्थ्यमन्त्री बस्नेतले नेपालको मेडिकल शिक्षा दक्षिण एसियाकै उत्कृष्ट रहेको दाबी गर्दै नेपाल अध्ययन गर्न आउनेहरूको संख्या बढ्दै गइरहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !