१८ असार २०८१, मंगलबार

गुणस्तरीय मानसिक स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्याउनु आजको आवश्यकता : स्वास्थ्यमन्त्री बस्नेत


मोहनबहादुर बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मानसिक स्वास्थ्य समस्या भएकै कारण अब कुनै पनि व्यक्ति मानव अधिकारबाट वञ्चित नहुने बताएका छन् ।

आज विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा जारी सन्देशमा उनले मानसिक स्वास्थ्य समस्यालाई सामाजिक कलङ्कका रुपमा लिन र भेदभाव गर्न नहुने बताएका हुन् । मन्त्री बस्नेतले मानसिक स्वास्थ्यबारे जनचेतना फैलाउँदै यसको सेवालाई सर्वसुलभ बनाउन सरोकारवाला सबैलाई अपिलसमेत गरे ।

“मानसिक स्वास्थ्यबारे जनचेतना फैलाउँदै मानसिक स्वास्थ्यसँग जोडिएका भेदभावपूर्ण व्यवहार र कुरीतिहरु सम्बोधन गर्न बहुक्षेत्रीय तथा बहुपक्षीय सरोकारवालाहरुबीच निरन्तर समन्वय र सहकार्य गर्दै मानसिक स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्ने कार्यमा हातेमालो गर्न अपिल गर्दछु”, उनले भने ।

मन्त्री बस्नेतले सबै व्यक्तिलाई मानसिक स्वास्थ्यको जोखिमबाट जोगाउँदै यसबाट सुरक्षित राख्न र सेवा सबै नागरिकको पहुँचमा पुर्याउनु आजको आवश्यकता भएको बताए । मानसिक स्वास्थ्यका कारण सामाजिक र आर्थिक क्षेत्रमा पनि ठूलो असर पुग्ने भएकाले यसमा थप लगानी तथा स्रोत जुटाउन सरकारले प्राथमिकता दिएको उनले जनाए । मन्त्री बस्नेतले नेपालीलाई लाग्ने रोगको भारमध्ये १८ प्रतिशत मानसिक रोगले ओगटेको उल्लेख गरे ।

पछिल्लो अध्ययनअनुसार नेपालमा १८ वर्षमाथिका व्यक्तिहरुमध्ये दस प्रतिशतलाई मानसिक स्वास्थ्य समस्या देखिएको छ । मानसिक स्वास्थ्य समस्याबाट सताइएका किशोरकिशोरी र युवाहरुको सङ्ख्या दिनप्रतिदिन बढेकामा चिन्ता प्रकट गर्दै मन्त्री बस्नेतले स्वस्थ्य रहन आहारविहार एवं नियमितरुपमा व्यायाम गर्न, द्युमपान, मद्यपान तथा लागुपदार्थ सेवन नगर्न र पर्याप्त निन्द्राजस्ता जीवनशैली अपनाउन आग्रह गरे ।

“स्वस्थ्य व्यक्तिको तुलनामा मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुको दशदेखि २० वर्षअगावै मृत्यु हुने तथ्याङ्कले देखाएको छ”, उनले भने, “सहयोग लिन नहिच्किचाउनुस्, परामर्श लिउ र लिन सहयोग गरौँ । कतिपय अवस्थामा यसलाई सामाजिक कलङ्कका रुपमा लिने गरिन्छ । यदि आफूलाई तनाव छ वा मानसिक स्वास्थ्यमा समस्या देखिएमा सहयोग लिन नहिच्किचाउ, समयमै मनोचिकित्सक वा मनोविद्सँग परामर्श लिऔँ र अरूलाई पनि परामर्श लिनका लागि सहयोग गरौँ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !