४ असार २०८१, मंगलबार

देशभरका अस्पतालमा आज आकस्मिकबाहेकका सेवा बन्द


काठमाडौं । नेपाल चिकित्सक संघले आज आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने भएको छ । मकवानपुरको हेटौंडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकमाथि आक्रमण गरिएको विरोधमा संघले आज आकस्मिकबाहेकका सेवा बन्द गर्ने भएको हो ।

नेपाल चिकित्सक संघले डाक्टरमाथि भएको आक्रमणका दोषीलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै आन्दोलनको घोषणा गरेको हो । सङ्घले एक विज्ञप्ति जारी गर्दै आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू पूर्ण रूपमा बन्द गर्ने सङ्घले जनाएको हो ।

यही भदौ २७ गते डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण गरिएको संघले शनिबार विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ ।

चिकित्सकद्वय थापा र बिडारीमाथि भएको आक्रमणका दोषीलाई कानुनी दायरामा ल्याउन भन्दै सङ्घले घटना भएकै दिन सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको थियो ।

सङ्घले घटनामा संलग्न सम्पूर्ण दोषीहरूको अविलम्ब छानबिन गरी फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाहीको सुनिश्चितता हुनुपर्नेमा समेत जोड दिएको छ ।

दोषीमाथि अझै कारबाही नगरिएको भन्दै संघले सेवा बन्दको कार्यक्रम सार्वजनिक गरेको हो । देशभरका स्वास्थ्य संस्थामा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गर्नुपर्नेलगायत माग पनि संघले गरेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !