२२ भाद्र २०८१, शनिबार

हेपाटाइटिसबाट बच्ने उपाय र यसको उपचार


हेपाटाइटिस रोग

काठमाडौँ । हेपाटाइटिस रोग कलेजोमा सुजन वा सुन्निनु हो जुन विभिन्न प्रकारका सङ्क्रामक भाइरस र गैरसङ्क्रामक कारणले स्वास्थ्यमा समस्या निम्त्याउने गर्छ । हेपाटाइटिस मुख्यतः पाँच प्रकारका हुने गर्छन् ।

हेपाटाइटिस बी र सीले दीर्घकालीन समस्या निम्त्याउँछ । कलेजो सिरोसिस, कलेजो क्यान्सर र भाइरल हेपाटाइटिसबाट मृत्युसम्मको कारण हेपाटाइटिस बी र सी रहेको छ ।

भाइरल हेपाटाइटिस साइलेन्ट किलर पनि भनिन्छ । हेपाटाइटिस बी र सीका अधिकांश बिरामीमा लक्षण देखिँदैन, लक्षण नदेखिँदा ढिला उपचार गराउने कारण क्यान्सर लाग्ने हुन्छ । हेपाटाइटिस बी र सी एउटा समूहमा राखिन्छ ।

रगत र रगतजन्य पदार्थबाट सर्ने यो प्रकारको हेपाटाइटिस शारिरीक सङ्क्रमणबाट समेत सर्दछ । सीको सङ्क्रमण धेरै लागुपदार्थ दुव्र्यसनीमा फस्नेमा देखिने गरेको छ । हेपाटाइटिस बी सङ्क्रमित आमाबाट बच्चामा सर्ने हुन्छ । परिवार र समुदायमा बढी देखिने गर्दछ ।

चिकित्सकका अनुसार भाइरल हेपाटाइटिस सङ्क्रमण मौन हुने गर्छ । हेपाटाइटिस ए र इभन्दा बी र सीकोे सङ्क्रमण घातक हुने गरेको छ ।

हेपाटाइटिसबाट कसरी बच्ने ?

चिकित्सकका अनुसारहेपाटाइटिस रोगको रोकथामको पहिलो उपाय भनेको यसको पहिचान नै हो । हेपाटाइटिसको परीक्षण नियमित गर्नुपर्छ । हेपाटाइटिस नभएका व्यक्तिले यसविरुद्धको खोप लगाउने, उमालेको पानी पिउने र सफा स्वच्छ आहार खाने, रातो मासु, रक्सी नखाने र जन्डिस तथा खाना अरुचिको लक्षण देखिएमा चिकित्सकको परामर्श लिनु पर्छ ।

हेपाटाइटिस बी र सीलाई प्राथमिकतामा राखेर त्यसको परीक्षण र उपचार गर्नसके मात्र यो रोग कम हुँदै जान्छ । उनका अनुसार कलेजोलाई स्वस्थ्य राख्न व्यक्ति स्वयं सचेत हुनुपर्छ ।

हेपाटाइटिसको उपचार

आफैँ निको हुने रोगको नेपालमा गलत उपचार भइरहेको छ । बिरामीलाई अप्ठ्यारोसँगै कतिपय अवस्थामा मृत्युसमेत हुने गरेको छ । बिरामीलाई जन्डिसको समस्या देखिन्छ । जन्डिस भइसकेपछि आयुर्वेद र जडीबुटीको औषधि खाने तथा खाना बार्ने गर्दा रोग बिग्रिन्छ । त्यसले गर्दा अरु अप्ठ्यारो आउन सक्छ ।

जनचेतनाको अभावमा बिरामीले जथाभावी औषधिको सेवन गर्न नहुने बताउछन् । उनका अनुसार हेपाटाइटिस ए र इ हेपाटाइटिस पानी र फोहर खानेकुराबाट सर्ने गर्छ । यसका बिरामीले पर्याप्त आराम र स्वच्छ आहार सेवन गरेको केही समयमा आफैँ निको हुन्छ । उनका अनुसार यो विशेषगरी दीर्घरोगी र गर्भवतीमा बढी सङ्क्रमण हुने गर्छ ।

हेपाटाइटिस सीको उपचारका सन्दर्भमा औषधिको मूल्य समान हुनाले अहिले एक बिरामीलाई रु ७० हजारसम्म उपचार खर्च लाग्न सक्छ । सी र एचआइभीको संयुक्त सङ्क्रमण हुने बिरामीलाई सरकारले निःशुल्क औषधि उपलब्ध गराउँदै आएको छ । हेपाटाइटिस बीका लागि खोप उपलब्ध छ ।

हेपाटाइटिस बी सङ्क्रमण धेरै भएको पकेट क्षेत्रमा माइक्रो एलिमेनेसनको कार्यक्रम गर्नुपर्दछ । त्यस्ता ठाउँमा रोगको परीक्षण गर्नुपर्छ र बिरामीको समयमा उपचारको व्यवस्था गर्न सके सङ्क्रमण फैलिनलाई रोक्न सहयोग पुग्छ ।

हेपाटाइटिस ए र इ स्वास्थ्यकर आहार र पर्याप्त आरामबाट निको हुनसक्छ । सीको औषधिको प्रयोगबाट निको हुन्छ भने बीको औषधिको प्रयोगले नियन्त्रण हुनसक्छ । बी र सीको औषधि उपचारबाट कलेजोलाई कडा हुनबाट बचाउँछ । चिकित्सकका अनुसार लिभर सिरोसिस भएमा अन्तिम विकल्प भनेको ट्रान्सप्लान्ट हो । त्यसकारण पनि समयमै रोगको पहिचान गर्नुपर्ने हुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !