१८ जेठ, झापा । एक रुपैयाँ पनि उपचार शुल्क नलिई २५ वर्षसम्म निरन्तर बिरामीको सेवामा समर्पित रहनुहुने एक जना चिकित्सक दम्पत्ति रोगले थालापरेपछि अहिले उनको हेरचाह गर्ने कोहि छैन् ।
श्रीमान्को भारतको सिलगढी स्थित आनन्दलोक अस्पतालमा आन्द्राको शल्यक्रिया गरिएको छ भने श्रीमतीको दुवै मिर्गाैलाले काम गर्न छाडेपछि बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । तर दुबै जनाको हेरचाहका लागि कोहि पनि छैन् ।
नेपालमा रहेर स्वदेशफिर्ती अभियान चलाइरहनुभएका भुटानी शरणार्थी नेता डा भम्पा राईको भारतको सिलगढी स्थित आनन्दलोक अस्पतालमा आन्द्राको शल्यक्रिया गरिएको छ । चार दिनअघि शल्यक्रिया गरिएको उहाँको हेरचाहका लागि कोहि आफन्त छैन् ।
उहाँकी श्रीमती उर्मिला राई आफैं बिरामी भएपछि उनको हेरचाह गर्ने कोहि पनि छैन् । डा. राईको शल्यक्रिया भएको र हेरचाहका लागि कोहि नभएको थाहापाएपछि किशोर राई आफैं हेरचाह र सहयोगका लागि आनन्दलोक अस्पताल पुग्नुभएको हो ।
दुवै मिर्गाैलाले काम गर्न छाडेपछि उहाँकी श्रीमती उर्मिलाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । आर्थिक अभावका कारण यो परिवार अहिले जीवनमरणको दोसाँधमा बाँचिरहेका छन । सन् १९९१ मा भुटानबाट शरणार्थी बनेर नेपाल भित्रिएका डा राईले त्यसयता बिरामीको निरन्तर निःशुल्क सेवा गर्दै आउनुभएको हो ।
त्यसबेला उहाँलाई पैसा केही होइन जस्तो लाग्थ्यो, अप्ठ्यारोमा परेकालाई साथ दिनु ठूलो धर्म हो, उहाँ सम्झनुहुन्थ्यो । तर, अहिले उहाँ आर्थिक अभावकै कारण जीवनमरणको दोसाँधमा हुनुहुन्छ ।
भुटानमा भएको आफ्नो सम्पत्ति शान, मान र दाम पनि एकैपटक छाडेर शरणार्थी बन्दै नेपाल आउनुभएको उहाँ पनि अन्य भुटानी शरणार्थी जस्तै सन् १९९१ देखि झापाको कनकाई नदीको बगरमा आएर बस्न थाल्नुभयो । त्यसपछि उहाँ दमकस्थित भुटानी शरणार्थी शिविरमा पुग्नुभयोे । उहाँ दमकमा स्वास्थ्य क्लिनिक नै चलाएर बस्नुभएको थियो । निःशुल्क उपचार गरिदिए वापत उहाँ सबैका प्रिय हुनुहुन्थ्यो । नेपालको २६ वर्षसम्मको बसाइँमा उहाँले कहिले पनि पैसालाई महत्व दिनुभएन ।
श्रीमतीको पनि दुवै मिर्गाैलाले काम गर्न छोडेपछि तनावमा रहनुभएका डा राईको आन्द्रामा समस्या भएपछि शल्यक्रिया गरिएको छ । श्रीमतीको मिर्गाैला फेर्नलाई रु ६० लाखभन्दा बढी लाग्ने भएपछि उहाँ अहिले आर्थिक अभावले पिरोलिनुभएको छ । त्यसमाथि आफैँ थलिएपछि यो परिवारमा समस्यामाथि समस्या थपिएको हो ।
भुटानमा रहँदा भुटान सरकारका कन्सल्टेन्ट सर्जन हुनुहुन्थ्यो उहाँ । बंगलादेशको ढाका विश्वविद्यालयमा चिकित्साशास्त्र अध्ययन गर्नुभएका डा राई १९७५ देखि चिकित्सा पेशामा संलग्न हुनुभयो । सन् १९७९ देखि भुटान सरकारको कन्सल्टेन्ट सर्जनका रुपमा काम गर्नुभयो । नेपालमा रहेका भुटानी शरणार्थीहरु बिरामी परे, उनीहरुलाई कसले हेर्छ ? भन्दै शरणार्थीको पछि लागेर उहाँ नेपाल आउनुभयो ।
बहत्तर वर्षीय डा. राईलाई कहिले पनि पुनर्वासको लोभले छोएन । अझै पनि भुटान नै सम्झनुहुन्छ उहाँ । अहिले मृत्यु शैय्यामा रहे पनि भुटानीलाई स्वदेश फर्काउन चाहिरहेको उहाँकी श्रीमती उर्मिलाले बताउनुभयो ।
श्रीमती बिरामी परेदेखि टुलुटुलुमात्र हेरिरहने डा राई अचानक बिरामी परेपछि उहाँलाई स्थानीयवासीले उपचारका लागि भारतको सिलगढी पु¥याएका थिए । विगत सात महिनादेखि उनकी श्रीमती मिर्गौला समस्याका कारण ओच्छ्यान हुनुहुन्छ । उहाँको हेरचाह छरछिमेकले गर्दै आएका छन् ।
डा राईले भुटानी शरणार्थी स्वदेश फिर्ती संयोजन परिषद् (विआरसिसी) स्थापना गरेर स्वदेश फिर्ती आन्दोलन चलाइरहनुभएको थियो । उहाँ विआरसिसीका अध्यक्षसमेत हुनुहुन्छ ।
करीब सवा लाख मानिसलाई अढाइ दशकमा उहाँले कैयौँपटक उपचार गर्नुभयो । तर, उहाँ अहिले बिरामी पर्दा सबैबाट टाढा छन् । न्यूरो सर्जन भएकाले उहाँले भुटानको दरबारमा रहेर सेवा गर्नुभएको थियो । उहाँले राजपरिवारको समेत औषधि उपचार गर्न भ्याउनुभयो । गुवाहाटी मेडिकल कलेजमा समेत अध्ययन गर्नुभएका डा राईले नेपालमा रहेर धेरैपटक भुटानीलाई स्वदेश फिर्तीको आन्दोलन चलाउनुभयो ।
आन्दोलनकै क्रममा उहाँ गम्भीर बिरामी बनेपछि बेलडाँगी शिविरबाट बाहिर डेरा लिएर बस्न थाल्नुभयो । उहाँको अहिले डेरा भाडा तिर्नेसम्म अवस्था छैन । डा राईसहित नेपाली भाषी भुटानी अगुवा नेता रणबहादुर बस्नेत, दिलप्रसाद बस्नेत, भीम सुब्बा, हरिप्रसाद अधिकारी, एसपी सुब्बा, हरि क्षेत्री, टेकनाथ रिजाल नेपाल आउनुभएको थियो ।
आमाबुबासाथ नेपाल आएका डा राईका आमा विष्णुमाया राईको २०५४ सालमा र बुबा आइतराज राईको ११ वर्षअघि निधन भएपछि परिवारमा उहाँहरु दुईजना मात्र रहनुभयो ।
बिर्तासिटीमा उर्मिलाको उपचार
बिर्तासिटी अस्पतालका जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतको अगुवाइमा अहिले डा राईकी श्रीमती उर्मिलाको उपचार भइरहेको छ ।
अस्पतालका अध्यक्ष गोपालकुमार बस्नेतले उर्मिलाको उपचारमा लाग्ने खर्चको व्यवस्थापन गर्दै हप्तामा दुईपटक उहाँको मिर्गौलाको डायलोसिस हुँदै आएको जानकारी दिनुभएको छ ।
अस्पतालमा उपचाररत रहेकै बेला भेटिएकी उर्मिलाले भन्नुभयो, “श्रीमान् भारतको अस्पतालमा मृत्यु शैय्यामा रहँदा म यता बिरामीले छटपटाइरहेकी थिएँ । यस्तो अवस्थामा अस्पतालले औषधि उपचार गरेर तिर्नै नसक्ने गुन लगाएको छ ।” उहाँले उपचारमा संलग्न चिकित्सकसहित अस्पताल प्रशासनलाई धन्यवाद दिनुभएको छ ।