२४ बैशाख २०८१, सोमबार

तीन महिनापछि नेपालमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु


कोरोना मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट ३ महिनापछि आज मंगलबार एक जनाको मृत्यु भएको हो ।

काठमाडौँको वीर अस्पतालमा उपचाररत ७० वर्षीया महिलाको आज मंगलबार विहान कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

४७६ जनामा पिसिआर परिक्षण गर्दा ७४ जना र १९६० जनामा एन्टीजेन परिक्षण गर्दा ३२ जना गरी जम्मा २४३६ नमुनाको परीक्षण गर्दा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४८ जनाले कोरोना जितेर निको भएका छन् ।

हाल देशभर ४६९ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । हालसम्म नेपालमा ६० लाख २४ हजार ७२७ पिसिआर परीक्षण भएको छ भने १५ लाख ५१ हजार ५१६ एन्टीजेन परीक्षण गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !