१२ बैशाख २०८१, बुधबार

मानव स्वास्थ्यको लागि योग र आयुर्वेदिक औषधिको महत्व


योग र आयुर्वेदिक औषधि

काठमाडौँ । मानव स्वास्थ्यमा योग र आयुर्वेदिक औषधिको महत्व ठूलो छ । योगविना जीवन अधुरो छ । मानिस मात्र यस्तो प्राणी हो जसले योगको महत्व जान्दा-जान्दै पनि योग गर्ने गर्दैन । योग त्यो प्रक्रिया हो जसद्वारा हाम्रो शरीर, मन र आत्मालाई सकरात्मक तरिकाले एकसाथ समावेश गर्दछ, आध्यात्मको प्राप्तिका लागि एक दोस्रोसँग जोड्दछ ।

आज जति पनि ठूला-ठूला माहात्मा बनेका छन्, ती सवै योगको माध्यमबाट बनेका छन् । ईश्वरको आराधनादेखि लिएर शरीरलाई स्वस्थ तथा स्फूर्तिवान राख्न तमाम विरामीहरुको रोगको समाधानसम्म, आत्मादेखि लिएर शरीर तथा मस्तिष्कको शुद्धिसम्म, हरेक ठाउँमा योगको आवश्यकता महसुस भएको हुन्छ ।

प्राचीन कालमा कलात्मक रुपमा साधाना गर्न तथा ईश्वरको तपस्या गर्न साधु सन्यासीहरु योगको सहारा लिने गर्दथे । हिन्दु संस्कृति तथा धार्मिक मान्यताअनुसार योगमा त्यस्तो शक्ति छ कि यसलाई ब्रम्हाण्डका कुनै पनि शक्तिसँग दाँज्न सकिन्छ ।

योगमा साधकका लागि जस्तोसुकै कुरा पनि असम्भव हुँदैन । अहिलेका मान्यताहरुको कुरा गर्दा योग मात्र केही शारीरिक व्यायाममा मात्र सीमित छ । यहाँसम्म कि यति धेरै प्रसिद्ध हुँदा पनि अहिलेसम्म योगको कुनै खास परिभाषा समेत सुनिश्चित गरिएको पाइदैन ।

योगको कुरा गर्ने हो भने वैदिक संहिता र वेदहरुमा र आयुर्वेद ग्रन्थ हरूमा तपस्वीहरुबारे उल्लेख गरिएको पाइन्छ । योग गर्ने साधकलाई पनि योगी भनिन्छ । योगी शब्द तपस्वीहरुका हकमा पनि प्रयोग हुन्छ । योग मानिसको कुरा छोडौं पशुपन्छीले समेत गर्दछ । मानव स्वास्थ्य ठिक बनाउनको लागि योगको महत्व मानवको अगाडि धेरै छ ।

हामीले जस्तोसुकै काम गर्छौं भने पनि त्यसलाई योगको अंश मान्न सकिन्छ । आफ्नो शक्ति सामर्थ्य अनुसार प्राप्त उठ्ने बित्तिकै हल्का व्यायाम गर्नु राम्रो हो यसले शरीरमा भएका सवै अंगलाई क्रियाशील बनाउदछ । स्वस्थ रहन र बाँच्न जति खानाको आवश्यक हुन्छ त्यो भन्दा बढी स्वस्थ रहन योगको खाँचो हुन्छ । योगको माध्यमबाट पाचनतन्त्रमा समेत प्रभाव पारेको हुन्छ ।

योग परम्परागत चिकित्सा पद्धति र जीवनशैली हो । यो वैज्ञानिक र व्यवहारिक छ । त्यसैले आत्म अनुशासन कायम गर्दै स्वास्थ्य र सकारात्मक जीवन बाँच्नका लागि योग आवश्यक छ । योगले हाम्रो अस्थिर मनलाई स्थिर बनाउने काम गर्छ । मानिसका मनमा राम्रा-नराम्रा अनेक वृत्ति, उत्पत्ति र लय उत्पन्न भएका हुन्छन् । त्यसैले मनमा सकारात्मक भावनाको विकास गर्नका लागि पनि योग गर्नुपर्दछ ।

योगको पछि अर्को महत्त्वपूर्ण पाटो भनेको आयुर्वेद औषधिको देखिन्छ । योगसंगै यदि सहि रोगको डायग्नोसिस रोगको निदान गरेर आफ्नो विरामीलाई दिन सकिन्छ भने यस्ले ठूलो फाइदा पुर्याएको हुन्छ । आज नेपालमा जडिबुटीको प्रयोग त्यति देखिएको छैन । मानिस स्वार्थमा डुब्दै गए कोही काम गर्न चाहदैनन् ।

हिजो योगसंगै जडिबुटी दिने हुनाले मानिस चाडो निको हुने गर्दथे । व्यायामपछि पौष्टिक खानाको आवश्यकता हुन्छ । यदि हामीले यसो गर्न सकेनौं भने योगको पुरा फाइदा लिनबाट हामी बन्चित हुन थाल्ने छौं । आजको यो लेखसंगै केही औषधि उपचारबारे जानकारी समेत पस्कन गइरहेको छु‌ ।

एलोभेरा (घिउकुमारी)

शरीरको छाला जलेमा वा पोलेमा घिउकुमारीलाई औषधिको रुपमा प्रयोग गरिन्छ। पोलेको ठाउँमा यसको रस लगाउँदा चिसो र शितलता प्रदान गर्छ ।

अदुवा

दैनिक किचनमा प्रयोग हुने अदुवाको प्रयोगले पाचनशक्ति बढाउन मद्दत गर्दछ । हरेक राती एक कप अदुवा राखेको चिया पिउनाले पाचन प्रक्रियालाई सहज बनाउछ । त्यस्तै मनतातो अदुवा पानी खाँदा बान्ता आउने समस्याको समाधान गर्छ ।

लसुन

प्रतिदिन भोजनमा लसुनको प्रयोग गर्नाले पेटको अल्सर र क्यान्सरबाट जोगिन सकिन्छ । दैनिक लसुन सेवन गर्नाले ब्लडप्रेसरलाई नियन्त्रणमा राख्न सहयोग पुग्छ र यसबाट लामो समयसम्म शरीरको इम्युन सिस्टम पनि बलियो रहन्छ ।

बेसार

बेसारमा एन्टिसेप्टिक र एन्टि व्याक्टेरियाजन्य गुण हुन्छ । सामान्य चोटपछिको घाउमा बेसार दल्नाले फाइदा गर्दछ । सुत्नु अगाडि तातो दुधमा थोरै बेसार राखेर पिउनुहोस् । एक रातमै तपाईको चिसो भाग्छ ।

प्याज

काचो प्याजको सेवन गर्नाले निन्द्रा लाग्ने हुन्छ । ठाउँ-ठाउँबाट कपाल उड्ने गरेको भएमा प्याज दल्नाले बाल उम्रन थाल्ने छ । जन्मजात अन्धोपनले नियमित प्याज काट्नाले आँखाको ज्योति बढाउन सक्छ ।

हींग

हींगले पाचनक्रिया मजबुत बनाउछ । पेट दुख्दा तातो पानीसंग सानो टुक्रा हींग खाँदा दुखाई कम हुन्छ । कब्जियत भएमा तातो पानी र हिंग खाँदा फाइदा हुन्छ ।

तुलसी

तुलसीले रोगका किटाणु नष्ट गर्न मद्दत गर्छ । यदि घरअगाडि तुलसीको बोट रोपिन्छ भने हावा पनि शुद्ध हुन्छ, आसपासका हानिकारक किटाणु पनि प्रभावहीन हुन्छन् । तुलसीमा एन्टीबायोटिक गुण हुन्छ, जो मलेरिया रोगका लागि लाभकारी हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !