१५ असार २०८१, शनिबार

चितवनमा निजी स्तरको क्यान्सर अस्पताल आयो सञ्चालनमा


सिएमसी क्यान्सर इन्स्टिच्युट Chitwan Medical College Teaching Hospital, CMCTH

चितवन । चितवन जिल्लामा निजीस्तरको पहिलो क्यान्सर अस्पताल सञ्चालनमा आएको छ । चितवन मेडिकल कलेज शिक्षण अस्पतालले भगिनी संस्थाको रुपमा सिएमसी क्यान्सर इन्स्टिच्युट सञ्चालनमा ल्याएको हो ।

अस्पताल परिसरमा छुट्टै भवन निर्माण गरी एक सय शय्याको इन्स्टिच्युट स्थापना गरिएको हो । इन्स्टिच्युटमा क्यान्सरका बहिरङ्ग सेवा, रेडियोथेरापी, केमो थेरापी, ब्राकी थेरापीलगायतका सेवा सुरु गरिएको छ । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेका अनुसार सेवा सुरु गरिएको भए पनि औपचारिक उद्घाटन मङ्सिरमा गरिने छ ।

अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण अस्पतालमा ल्याएर जडान गरिएको डा न्यौपानेले जानकारी दिनुभयो । उपकरणमा मात्रै रु एक अर्ब २७ करोड बढी खर्च भइसकेको उनले जानकारी दिए । दैनिक एक सय जनासम्मलाई रेडियसन सेवा दिन सकिने गरी रेडिएसन लिन्याक एक्सिलेरेटर जडान गरिएको छ ।

क्यान्सर उपचारकै लागि अस्पतालले छ तले भवन निर्माण गरेको छ । इन्ष्टिच्युटका रेडियसन अङ्कोलोजिष्ट डा सुवास ठाकुरले टाउकोभित्रको ट्युमरलाई बिना शल्यक्रिया उपचार गर्ने प्रविधि पनि ल्याएको बताए । उहाँनका अनुसार ब्रेकी थेरापीमार्फत शरीरभित्र उपकरण राखेर रेडियो एक्टिभ सोर्स प्रयोग गरेर क्यान्सर कोष मार्ने प्रविधि पनि इन्ष्टिच्युटमा ल्याइएको छ । पाठेघरको क्यान्सरमा यो प्रविधिको उपचार बढी हुने गर्दछ ।

जिल्लामा ल्याइएका क्यान्सरका बिरामीलाई अन्यत्र जान नपर्ने गरी सेवा दिइने प्रबन्ध निर्देशक न्यौपानेले बताए । उनले क्यान्सरका ५० प्रतिशतभन्दा बढी बिरामी उपचारका लागि भारत जाने गरेको भन्दै अस्पतालमा भारत, अमेरिका र चीनमा काम गरिरहेकासमेत १६ क्यान्सरका विशेषज्ञ चिकित्सक रहने जानकारी दिए ।

रेडियसनसँगै ब्राकी थेरापी, स्पेक्ट सिटी स्क्यान, बोनम्यारो प्रत्यारोपण, रक्त क्यान्सरको उपचार, बाल क्यान्सरको उपचारसहित सबै खालका क्यान्सरको उपचारका लागि उपकरण खरिद गरिएको उनको भनाइ छ । अन्य उपकरण र भौतिक पूर्वाधारमा गरी रु दुई अर्बभन्दा बढी खर्च लगानी हुने अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले बताए ।

नेपालका मेडिकल कलेजमा धेरै बिरामी परीक्षण गर्ने मध्येमा यो मेडिकल कलेज पर्दछ । देवकोटाले क्यान्सर इन्स्टिच्युट सञ्चालनमा आएसँगै नेपालका बिरामी विदेश जान नपर्ने बताउनुभयो । भारतीय बिरामी समेतलाई सेवा दिन सकिने उनले बताए । उनले भने, “हामी विदेश जान बाध्य बिरामीलाई यही त्योभन्दा राम्रो सेवा दिन सक्ने गरी व्यवस्थापन गर्दैछौँ ।”

जिल्लामा सरकारीस्तरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालनमा छ । बिरामी चापका कारणले रेडिएसन, केमोथेरापीलगायतका सेवा लिन पालो कुर्नुपर्ने बाध्यता छ । समयमा पालो नआउँदा बिरामी भारत जान बाध्य छन् । निजीस्तरको अस्पताल सञ्चालनमा आएसँगै ती बिरामीलाई सहज हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !