२१ पुस २०८१, आइतबार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीद्वारा सामूहिक राजीनामा


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीहरूले सामूहिक राजीनामा दिएका छन् । उनीहरूले मेडिकल अफिसर डा. करण साहविरुद्ध जारी पक्राउ पुर्जी फिर्ताको माग गर्दै राजीनामा दिएका हुन् ।

डा. साहलाई ‘झुटो’ ओरोपमा जारी गरिएको पक्राउ पुर्जी फिर्ता हुनुपर्ने र दोषीलाई कारबाही गरी पीडितलाई न्याय दिलाउनुपर्ने मागसहित सामूहिक राजीनामा दिएको बताइएको छ । यसअघि इमर्जेन्सीबाहेकका सबै सेवा तथा अध्ययन अध्यापन ठप्प पारेका स्वास्थ्यकर्मीले आज उपकुलपतिसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

कानुनी राज्यको आभाष नभएकोले र विरोधको नयाँ स्वरुप अनुसार प्रतिष्ठानमा कार्यरत चिकित्सकहरुले उपकुलपतिसमक्ष सामूहिक राजीनामा पेश गरेको जनाएका छन् । विषय परिस्थिति र शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म सेवा दिन असमर्थ रहेको उनीहरूको भनाइ छ ।

जिल्ला अदालत जुम्लाले अनुसन्धानका लागि भन्दै प्रतिष्ठानका मेडिकल अफिसर साहविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले डा. साहले प्रतिष्ठानमा उपचारका क्रममा बाल हिंसा गराएको आरोपमा जाहेरी दरखास्त दर्ता भएको व्यहोरा अनुरोध गर्दै अनुसन्धान अभियोजनका लागि पक्राउ अनुमति मागेअनुसार पक्राउ पुर्जी भएको थियो ।

एसिया इन्टरनेशनल मोडेल इङ्लिस स्कुल जुम्लामा कक्षा युकेजीमा अध्ययनरत चन्दननाथ नगरपालिका–२ जुम्ला भण्डारीवाडाका ६ वर्षीय बालक पृथकविक्रम शाहीको उपचारमा डा. साहले बाल हिंसा गरेको आरोप लागेको थियो ।

सामूहिक राजीनामा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !