७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री देउवाद्वारा टाइफाइडविरुद्धको खोप अभियानको शुभारम्भ


प्रधानमन्त्री देउवाद्वारा टाइफाइडविरुद्धको खोप अभियानको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्धको खोप अभियानको शुभारम्भ गरेका छन् । आज बिहीबार विश्व स्वास्थ्य दिवसका दिन रानीपोखरीस्थित दरबार हाइस्कूलमा आयोजित एक समारोहमा उक्त अभियानको शुभारम्भ गरेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर टाइफाइडविरुद्धको खोप अभियान शुरुवात गरेको हो । सो अवसरमा विद्यालयका विद्यार्थीहरुलाई खोप दिइएको थियो । प्रधानमन्त्री देउवाले खोप अभियानको सफलताको कामना गरे ।

भोलि चैत २५ गतेदेखि आउँदो वैशाख १८ गतेसम्म राष्ट्रव्यापी रूपमा सो खोप अभियान सञ्चालन हुनेछ । अभियानअन्तर्गत १५ महिनादेखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई खोप दिइनेछ । यो खोप निःशुल्क, सुरक्षित र प्रभावकारी रहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर ७५ लाख बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको छ । १ वर्ष ३ महिनादेखि १५ वर्ष उमेरसम्मका सबै बालबालिकालाई एक पटक टाइफाइड विरुद्धको खोप लगाइने भएको हो ।

यद्यपि केही जिल्लामा भने अभियानअन्तर्गत नै टाइफाइडविरुद्धको खोप लगाउन शुरु भइसकेको छ । गाभी (खोपसम्बन्धी विश्वव्यापी सञ्जाल)ले नेपाललाई निःशुल्क टाइफाइड खोप उपलब्ध गराएको हो ।

नेपाल दक्षिण एसियामा टाइफाइड विरुद्धको खोप लगाउने पहिलो मुलुक भएको र विश्व स्वास्थ्य सङ्गठनले नेपालसहित टाइफाइडबाट पीडित अन्य देशमा पनि खोप लगाउन सिफारिस गरेको हो ।

खोप अभियानअन्तर्गत देशभर ५६ हजार ४२९८ खोप केन्द्र र विद्यालयमा खोप लगाइने र यसका लागि १० हजार स्वास्थ्यकर्मी र एक लाख १२ हजार ८५८ स्वयमसेवक परिचालन गरिने छ ।

खोप लगाएको ठाउँमा रातो हुने, सुन्निने, दुख्ने, ज्वरो आउने, टाउको दुख्ने, हात गोडा तथा जोर्नी दुख्नेजस्ता सामान्य असर देखिएपनि अन्य कुनै असर नपर्ने भएकाले ढुक्क भएर आफ्नो नजिकको खोप केन्द्रमा गई बालबालिकालाई खोप लगाउन स्वास्थ्य सेवा विभागले अभिभावकसँग आग्रह गरेको छ ।

हरेक वर्ष अप्रिल ७ तारिखका दिन विश्व स्वास्थ्य दिवस मनाइन्छ । नेपालमा पनि यो वर्ष ‘स्वच्छ वातावरण, स्वस्थ नेपाली’ भन्ने नाराका साथ दिवस मनाइँदै छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !