९ वैशाख, सुर्खेत । जुम्लामा १४ हजार ५८ जनाले स्वास्थ्य बिमा गराएका छन् भने स्वास्थ्य बिमा गराएका बिमितहरुबाट ५७ लाख संकलन भएको छ । यस्तै गत असार एक गतेवाट शुभारम्भ भएको स्वास्थ्य बिमा कार्यक्रममा जुम्लाका २० हजार घरधुरी संख्यामध्ये दुई हजार २०० घरधुरीका १४ हजार ५८ जनाले बिमा गरेका छन् ।
स्वास्थ्य बिमा गरेका मध्येवाट हालसम्म चार हजार ४२८ जनाले स्वास्थ्य बिमा सेवा लिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका मेडिकल रेकर्डर मेघराज बुढाले जानाकारी दिए । मेडिकल रेकर्डर बुढाले भने ‘कर्णाली प्रदेशका जुम्ला,सुर्खेत र जाजरकोटमा लागू भएको स्वास्थ्य बिमा कार्यक्रममा जुम्ला नै अगाडि रहेको छ ।’
उनका अनुसार जुम्लाको कूल एक लाख आठ हजार ९२१ जनसंख्यामा १०.११ प्रतिशतले स्वास्थ्य बिमा गरेका छन् भने तीन लाख ५० हजार ८०४ कूल जनसंख्या भएको सुर्खेतमा ४.०१७ र कूल जनसंख्या एक लाख ७१ हजार ३०४ भएको जाजरकोटमा ६.१७ प्रतिशतले मात्र स्वास्थ्य बिमा गरेको उनले बताए ।
कर्णाली प्रदेशका स्वास्थ्य बिमा कार्यालयका संयोजक अर्जुन पण्डितले ३३ जिल्लामा स्वास्थ्य बिमा लागू भएको र ४० जिल्लासम्म यो अभियान पुर्याउने लक्ष्य रहेको समेत बताए ।
नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले यो अभियानलाई विस्तार गर्नाका साथै प्रभावकारी बनाएर लैजान अहिले जनप्रतिनिधिलाई स्वास्थ्य बिमासम्बन्धी अभिमुखीकरण दिन थालेको छ । अछाम बैतडी, कैलाली, बाग्लुङ, म्याग्दी, पाल्पा, इलाम, जुम्ला, जाजरकोट र सुर्खेतमा यो कार्यक्रम शुरु भएको जनाइएको छ ।(रासस)