३ मंसिर २०८१, सोमबार

ग्यास्ट्राइटिस रोग र यसको उपचार


ग्यास्ट्राइटिस

आजकाल हरेक घरमा देखिने यो रोगको उपचार समयमा हुन नसके अल्सर क्यान्सरसम्म हुन सक्छ । नेपालीको राष्ट्रिय रोगको रूपमा चिनिने रोग ग्यास्ट्रिक खास गरी खानपानको लापरबाहीबाट भएको पूर्वानुमान गर्न सकिन्छ । खास गरी यो रोग ४० बर्ष कटेकालाई हुने रोग अन्तर्गत पर्दछ ।

अहिले नेपाली के सानो के ठूलो सबैलाई यो रोग देखिएको छ । आजको लेखमा यसबाट कसरी बच्ने र यसको उपचार कसरी गर्न सकिन्छ । औषधि नखाई पनि यो रोग निको बनाउन सकिन्छ भन्नेबारे जान्न सके भविष्यमा अल्सर हुनबाट आफुलाई बचाउन सकिने छ ।

के हो ग्यास्ट्रिक ?

पेट दुख्ने, पेट फुल्ने, केही चिज खाएपछि अमिलो डकार आउने या छातीको बीचतिर दुख्ने जस्ता समस्या देखिनासाथ हामी ग्यास्ट्रिक भयो भन्छौं । यस्ता रोग देखिनासाथ हामीले पेन्टाप्राजोल या अन्य एन्टासिड चक्की खाइहाल्छौं । तर, सबै पेट दुखाइ ग्यास्ट्रिक नहुन पनि सक्छ ।

ग्यास्ट्रिक र अल्सरका कारणहरू यस्ता छन् :

१. जाँडरक्सी एवं सुर्तीजन्य पादार्थको सेवन बढि गर्नेहरूमा,

२. पेट नदुख्ने औषधि (पेनकिलर), बाथरोगका औषधि आदिको नियमित सेवन गर्नेहरूमा,

३. जंकफुड बढी खानेहरूमा,

४. चिल्लो, अमिलो, पिरो र अजिना मोटो राखेको खानेकुराको प्रयोग बढी सेवन गर्नेहरूलाई,

५. चटपटे, पानीपुरी, दालमोठ, चाउचाउ आदिको सेवन बढी गर्नेहरूलाई

ग्यास्ट्रिक र अल्सर जस्ता रोग लाग्न सक्छ । ग्यास्ट्रिकका बिरामीले यस्ता खाना सकेसम्म नखाने गरेमा रोग चाँडो निको हुन सक्छ । नेपालीको जिब्रोको कारण नै यो रोग सबैलाई लाग्ने गरेको देखिन्छ । यस्ता रोग नलागोस् भन्नाका लागि के खाने, के नखाने भन्ने कुरा सवैभन्दा महत्वपूर्ण छ आउनुस् यस बारेमा पनि जानकारी प्राप्त गरौं :

१. गिलो बनाएको दालभात खाने, प्रशस्त तरल पदार्थ पिउने
२. प्रशस्त पानी पिउने
३. हरिया सागसब्जी प्रशस्त खाने

ग्यास्ट्रिकका रोगीले खान नहुने ?

१. अचार, खुर्सानी, घिउ, अमिलो दही कम खाने
२. रातो मासु कम खाने,
३. तेल,घिउमा तारेको माछा, मासु, पकौड,समोसा, नम्किन आदि नखाने
४. दूध हालेको चिया सके सम्म नखाने
५. कफी, चकलेट गुलियो बस्तु सकेसम्म नखाने

यसरी हामीले आफ्नो स्वास्थ्यमा ध्यान दिन सकेमा ग्यास्ट्रिक अल्सर हुनबाट रोक्न सक्ने छौं ।

बारम्बार दूध चिया खाइरहने, समयमा खाजा नखाने, दुई छाकले २४ घण्टा टार्न खोज्ने जस्ता बानीले धेरैलाई ग्यास्ट्रिकको जोखिममा पार्ने गरेको छ । ग्यास्ट्रिक अलसर पत्ता लगाउन इन्डोस्कोपी गर्नुपर्ने हुन सक्छ ।

उपचार

१. प्रात: उठ्नासाथ कम्तीमा सानो गिलासको ४ गिलास पानी पिउने । हातमुख धोइसकेपछि मनतातो पानी १ गिलासमा थोरै विरेनुन राखेर खाने ।
२. अभिपत्तिकर चूण, त्रिफला चूण, हिङ्गबाष्टक चूण समभाग मिलायर दिनमा २ पटक दिने ।
३. ग्यासहर्ब सिरप २ चमच दिनमा २ पटक खाने ।
४. कुमारी आसब २ चमच समभाग पानी मिलाएर दिनमा ३ पटक खाने ।

खाली पेट नराख्ने थोरै थोरै खाने गरेमा ग्यास्ट्रिक आफै निको हुन सक्छ ।

नोट : योग्य अनुभवी डाक्टरको रेखदेखमा उपचार गराउन सक्नुहुन्छ । यस्ता रोगको सरल आयुर्वेद औषधि बैद्य कविराजको परामर्शमा लिने गर्नु भएमा राम्रो हुनेछ । माथि लेखेको औषधि प्रयोग गरेमा राम्रो फाइदा उठाउन सक्नु हुनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !