काठमाडौँ, असोज १६ । पूर्वराष्ट्रपति रामवरण यादवले अनसनरत डा. गोविन्द केसीलाई भेटेका छन् । आज शुक्रबार त्रिवि शिक्षण अस्पताल पुगेर यादवले डा. केसीलाई भेटेर उनको मागमा समर्थन जनाएका छन् । केसीको मागलाई सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै ऐक्यबद्धता जनाउन विगतमा पनि आएको र आज अहिंसा दिवसको संयोग परेको पनि यादवले सुनाए ।
पूर्वराष्ट्रपति यादवले डाक्टर केसीले सत्याग्रहमार्फत जनताको माग उठाएकाले सरकारले वार्तामाफत समस्या समाधान गर्नुपर्ने बताए । पूर्वराष्ट्रपति यादवले सत्याग्राही केसी र महात्मा गान्धी जस्ता पुरुषकै कारण संसारमा अहिंसा र शान्तिको ज्योति बलेको उदाहरण दिए ।
विश्व अहिंसा दिवसका अवसरमा पूर्वराष्ट्रपति यादवले चिकित्सा शिक्षा सुधारका लागि १९ दिनदेखि सत्याग्रहमा बसेका डाक्टर केसीलाई भेटेका हुन् । शुरुमा जुम्लामा अनसन बसेका उनलाई काठमाडौं ल्याइएको थियो । लोकतान्त्रिक सरकारले डा. केसीले उठाएका माग सम्बोधन गर्नुपर्ने पूर्वराष्ट्रपति यादवको भनाइ रहेको छ ।