१४ बैशाख २०८१, शुक्रबार

मिर्गौला पीडितको याचना : म बाँच्न चाहन्छु, सहयोग गरिदिनुहोस्


मिर्गौला

दमौली, २ भदौ । तनहुँको व्यास नगरपालिका–१४ कुलुङ निवासी २६ वर्षीय सन्तोष रानामगरको दुवै मिर्गौलाले काम गर्दैन । गत वर्षदेखि दुवै मिर्गौलाले काम गर्न छाडेपछि उहाँले पोखरास्थित फिस्टेल हस्पिटलमा डायलासिस गर्दै आउनुभएको छ ।

मिर्गौला प्रत्यारोपणका लागि करिब रु २० देखि २२ लाखसम्म खर्च लाग्ने चिकित्सकले बताएपछि रानाले सबैसँग सहयोगको याचना गर्नुभएको छ । “मिर्गौला प्रत्यारोपणका लागि ठूलो रकम आवश्यक पर्छ, घरको आर्थिक अवस्था नाजुक छ”, रानाले भन्नुभयो, “सबैले सहयोग गरिदिए मेरो बाँच्ने चाहना पूरा हुन्छ ।” बिरामी भएर उपचार गर्दा दुवै मिर्गौलाले काम गर्न छाडेको पत्ता लागेको थियो ।

हाल उहाँले हप्ताको दुई दिन डायलासिस गर्नुपर्छ । मिर्गौला प्रत्यारोपणका लागि पोखरामा सम्भव नभएकाले काठमाडौँ जानुपर्ने चिकित्सकले बताएका छन् । “पैसा छैन, कसरी काठमाडाँै जानु”, रानाले भन्नुभयो, “सबैको थोरै–थोरै सहयोगले उपचारका लागि खर्च जुटे म बाँच्थे ।” मिर्गौलापीडित रानाको उपचारका लागि उहाँकी आमा सुकुमाया रानाको नाममा एसबीआई बैंकमा (खाता नं ००७००७२०६०००५६७६७०००००१) खाता खोलिएको छ ।

यसैबीच मिर्गौलापीडित रानालाई केशवटार दमौली सम्पर्क युवा समितिले रु एक लाखभन्दा बढी रकम सहयोग गरेको छ । गत वर्षदेखि मिर्गौलामा समस्या आएपछि डायलासिस गर्दै आउनुभएका रानालाई मिर्गौला प्रत्यारोपणका लागि सहयोग पु¥याउन युवा समितिले सङ्कलन गरेको रु एक लाख आठ हजार ९५० सोमबार हस्तान्तरण गरिएको छ । युवा समितिका आर्थिक संयोजक युवराज आलेले उक्त रकम पीडितका परिवारलाई हस्तान्तरण गर्नुभयो । केशवटार घर भई हाल दमौलीमा रहनुभएका र अन्य व्यक्तिबाट रकम सङ्कलन गरिएको आलेले जानकारी दिनुभयो ।

मिर्गौलापीडितको सहयोगमा जुट्दै लायन्स क्लब
यसैबीच तनहुँमा क्रियाशील लायन्स क्लबहरू मिर्गौलापीडितको सहयोगका लागि जुटेका छन् । लायन्स क्लब अफ तनहुँ दमौलीले व्यास नगरपालिका–४ निवासी दुवै मिर्गौलापीडित रामलाल श्रेष्ठलाई रु ५० हजार सहयोग गरेको छ । क्लबले दमौली बजारमा घरदैलो अभियान गरेर सङ्कलन गरेको उक्त रकम पीडित श्रेष्ठलाई हस्तान्तरण गरेको हो ।

क्लबका सचिव विशाल पण्डितका अनुसार क्लबले दुई दिनको अवधिमा उक्त रकम दमौलीवासीबाट सङ्कलन गरेको थियो । छोराको करेन्ट लागेर निधन भएपछि थप पीडामा रहेको श्रेष्ठ परिवारलाई सबैले सहयोग गर्नुपर्ने पण्डितले बताउनुभयो । यसैगरी क्लबले व्यास नगरपालिका–४ कै दुवै मिर्गौलापीडित अब्दुल गफारलाई रु २० हजार सहयोग गरेको छ ।

यस्तै लायन्स क्लब अफ तनहँु व्यास सिटीले व्यास नगरपालिका–४ निवासी दुवै मिर्गौलापीडित अब्दुल गफारलाई रु ५० हजार ५५५ सहयोग गरेको छ । “जहाँ समस्या र आवश्यकता त्यहाँ लायन्स” भन्ने मूलमन्त्रलाई अङ्गीकार गर्दै समस्यामा परेकालाई सहयोग गर्न लायन्स क्लब सदैव तयार रहेको क्लबका अध्यक्ष कुमार मल्लले बताउनुभयो ।

समुदायका १२७ को स्वाब सङ्कलन
तनहुँको भानु नगरपालिकाका २४ जनामा कोरोना पुष्टि भएपछि सोमबार एकै दिन १२७ जनाको स्वाब सङ्कलन गरिएको छ । कोरोना सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको पहिचान गरी नगरपालिकाले उनीहरुको स्वाब सङ्कलन गरेको हो ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले भानु नगरपालिका–२, ३, ४, ५ र ८ का व्यक्तिको स्वाब सङ्कलन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार स्वाब सङ्कलनका लागि पाँच स्वास्थ्यकर्मी खटिएका थिए । सोमबार अबेरसम्म उनीहरुको स्वाब सङ्कलन गरिएको थियो । “भानुमा एकैचोटि ठूलो सङ्ख्यामा समुदायका व्यक्तिमा कोरोना पुष्टि भएपछि सम्पर्कमा आएकाहरुको पहिचान गरी स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाएका छौँ”, उहाँले भन्नुभयो ।

भानु नगरपालिका–१ का ३४ वर्षीय एक व्यक्तिमा गत सोमबार कोरोना पुष्टि भएको थियो । त्यसलगत्तै नगरपालिकाले १२२ को स्वाब सङ्कलन गरी परीक्षण गराएकामा २२ जनालाई सङ्क्रमण पुष्टि भयो । बन्दीपुर गाउँपालिकाको समन्वयमा गरिएको परीक्षणमा भानु नगरपालिकाकै थप एक जनालाई कोरोना पुष्टि भएको थियो । नगरपालिकाका जनप्रतिनिधि, इञ्जिनीयरलगायत कोरोनाबाट सङ्क्रमित छन् ।

व्यासका दुई महिलामा कोरोना सङ्क्रमण
तनहुँको व्यास नगरपालिकाका दुई महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार राति ८ बजे सार्वजनिक गरेको विवरणअनुसार व्यास नगरपालिका–१ का ३१ र २३ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

व्यास नगरपालिका–१ का एकै परिवारका पाँच जनामा पोखरामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएपछि नगरपालिकाले शनिबार १०२ जनाको स्वाब सङ्कलन गरेको थियो । त्यसमध्ये ९५ जनाको रिपोर्ट सोमबार दिउँसो नेगेटिभ आएको थियो । “राति अबेरमात्रै दुई सङ्क्रमित भएको प्रदेशको विज्ञप्ति आयो, यसबारे रुजु गरेर मात्रै विस्तृतमा भन्न सकिन्छ”, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले भन्नुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !