८ आश्विन २०८१, मंगलबार

नारायणी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीसहित ३५० जनाद्वारा सामुहिक राजीनामा


नारायणी अस्पताल

वीरगन्ज, साउन २८ । कोरोना संक्रमणबाट अतिप्रभावित प्रदेश २ को पर्सा जिल्लाको वीरगन्जस्थित नारायणी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले सामुहिक रुपमा राजीनामा दिएका छन् । सुरक्षाको माग गर्दै अस्पतालका ३ सय ५० भन्दा बढी स्वास्थ्यकर्मी र कर्मचारीले सामुहिक राजीनामा दिएका हुन् ।

नारायणी अस्पतालमै कोरोना संक्रमितको उपचारमा खटिएका ५० भन्दा बढी स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भइसकेकाे छ । नारायणी अस्पतालकाे अस्थायी कोभिड अस्पतालसहित हालसम्म ११०० भन्दा बढी कोरोना संक्रमितको उपचार गरिसकेको छ ।

कारोना संक्रमितको उपचारमा २४ सै घण्टा खट्दै आएका चिकित्सक, नर्स र स्वास्थ्यकर्मी र अस्पतालमाथि आक्रमण गर्ने कार्य भएपछि सुरक्षाको माग गर्दै सामुहिक राजीनामा दिन बाध्य भएको अस्पताल स्रोतले बताएको छ । कोरोना विरुद्धको लडाईमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षा हुनुपर्ने, अस्पतालमा तोडफोड गर्नेलाई कार्वाही हुनुपर्ने र सरकारबाट थप दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्ने माग राखेर सामुहिक राजीनामा दिएका हुन् ।

साउन २४ गते वीरगन्ज २ छपकैयाकी २० वर्षिया युवतीको वीरगन्जका आधा दर्जन अस्पताल डुलाउँदा पनि कसैले भर्ना नलिदा उपचार नपाएर उनको मृत्यु भएको थियो । त्यसैको आक्रोशमा मृतकका आफन्त र स्थानीयले साउन २५ गते नारायणी अस्पतालमा प्रदर्शन गर्ने क्रममा अस्पताल भित्र तोडफोड गर्नुका साथै डा. उदय नारायण सिंहको निजी कारको सिसा फुटाएका थिए ।

उनीहरुले अस्पतालका मेसु र डाक्टरविरुद्ध नाराबाजी पनि गरेका थिए । साउन २५ गते अस्पतालमा भएको प्रदर्शन र तोडफोडको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले वडा नम्बर २ का वडा सदस्य मुस्तफा अन्सारीसहित ३ जनालाई नियन्त्रणमा लिएर मुद्धा चलाएको छ ।

यसैबीच नारायणी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले सामुहिक राजीनामा दिएको खबर सार्वजनिक भएपछि सामाजिक सन्जालमा यसको चर्को आलोचना भएको छ । कोरोनाको महामारीले वीरगन्ज अक्रान्त भएका बेला अस्पतालका स्वासथ्यकर्मी र कर्मचारीहरु बहाना बनाएर आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको आरोप छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !