दमौली, ८ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तनहुँको दमौली अस्पताललाई एनएस्थेसिया मेशिन उपलब्ध गराएको छ । निक साइमन फाउण्डेशनले मन्त्रालयलाई उपलब्ध गराएको उक्त मेशिन मन्त्रालयले अस्पताललाई हस्तान्तरण गरेको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालका स्वकीय सचिव राजेश शर्माले उक्त उपकरण दमौली अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा सुनिल पौडेललाई हस्तान्तरण गर्नुभयो । एनएस्थेसिया मेसिन बिरामीलाई पूर्णतः बेहोस बनाउने मेसिन हो । इञ्जिनीयरले उक्त मेसिन अस्पतालमा जडान गरिदिने र अस्पतालका डाक्टर, नर्स र ल्याबकर्मीलाई तालिम दिइएपछि मेशिन सञ्चालन गर्न सकिने अस्पतालका डा. पौडेलले जानकारी दिनुभयो । कोरोना भाइरस सङ्क्रमण रोकथाम र उपचारमा आवश्यकपर्ने भेन्टिलेटरसहितको उक्त उपकरणको मूल्य करिब रु २३ लाख पर्ने बताइएको छ ।
विनाअक्सिजन शल्यक्रिया गर्न सकिने उक्त मेसिन गण्डकी प्रदेशको दमौलीसहित स्याङ्जा अस्पताललाई पनि हस्तान्तरण गरिएको छ । त्यस्तै सङ्खुवासभा अस्पताल, गाईघाट अस्पताल उदयपुर, दमक अस्पताल झापा, लहान अस्पताल सिरहा, कलैया अस्पताल बारा, त्रिशूली अस्पताल, दोलखा जिल्ला अस्पताल, वीर अस्पताल, भरतपुर अस्पताल, गुल्मी अस्पताल, पृथ्वीचन्द्र अस्पताल र कालीकोट अस्पतालमा पठाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।