११ बैशाख २०८१, मंगलबार

होली खेल्दा अपनाउनुपर्ने १५ सावधानीहरु


होली

फागु पूर्णिमा होली खेल्दा अपनाउनुपर्ने १५ सावधानीहरु ! होली पर्व हिन्दूहरूको प्रत्येक बर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने प्रमुख चाड हो । रंगहरुको पर्व होली आज काठमाडौं उपत्यका लगायत पहाडी जिल्लाहरुमा मनाइँदैछ । होलीको रंगसँग युवा र बालकहरुमा मात्रै रमाउँदैनन्,बृद्धाबृद्धहरुले पनि होलीमा जीवन रंगहरु जस्तै खुसी र रंगिन होस् भन्दै रंगहरु एकआपसमा दलेर खुसी साट्ने गर्दन् । बजारमा पाइने कतिपय रंगहरुमा रसायन मिसाइएको हुन्छ । जसले शरीरमा क्यासर समेत गराउँछ । त्यसैले पनि होलीमा रंगसँग खेल्दा विशेष सावधानीहरु अपनाउनुपर्छ ।

यस्ता छन् होली खेल्दा अपनाउनुपर्ने १५ सावधानीहरु

१. सकेसम्म प्राकृतिक रंग र सफा पानीले मात्र होली खेल्नुपर्छ । केवल हर्बल रंगहरुको मात्र प्रयोग गर्नुपर्छ । गाढा रंगहरुको प्रयोग गर्नुहुदैन । यदि गाढा रंग प्रयोग गरेमा निकाल्नका लागि दही र बेसनको पेष्टको प्रयोग गर्न सकिन्छ ।

२. रंग खेल्नु अघि शरीरमा तोरीको तेल लगाउनुपर्छ । साथै होली खेल्नु अघि अनुहारमा मोस्चराइजर राम्रोसँग लगाउनुपर्छ । रंग खेल्दा सम्पूर्ण शरीर ढाकिने किसिमको लुगा लगाउनुपर्छ । यसो गर्नाले रंग शरीरमा लाग्न सक्दैन ।

३. रंगलाई आँखामा पर्न दिनुहुदैन । आँखामा चस्मा तथा ग्लासको प्रयोग गर्नुपर्छ । यदि रंग आंखामा पस्यो भने आँखालाई चिसो पानीले सफा गर्नुपर्छ । यदि धेरै समस्या भयो भने डाक्टरलाई देखाउनुपर्छ ।
४. होली रङको मात्र खेल्नुपर्छ, बिभिन्न प्रकारका पेन्ट, स्लिभर पेन्ट गर्नुहुदैन, यसले अनुहार सहित स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउँछ ।

५. बाटो हिडेका नचिनेका मानिसलाई झुक्काएर लोला हान्ने नाममा कुनै अग्लो स्थान वा घरको छतको रेलिङमा बस्नुहुदैन नत्र लड्न सकिन्छ ।

६. होली खेल्दा बालबालिकालाई विशेष सावधानीमा राख्नुपर्छ, उनीहरुको गतिविधि नियाल्न जरुरी हुन्छ ।

७. बालबालिकालाई सडकमा होली खेल्न बन्देज गर्नुपर्छ, नत्र दुर्घटनामा पनि हुनसक्छ ।

८. बाटो छेकेर अपरिचित मानिसलाई रंग लगाउनुहुदैन, नत्र अभद्र व्यवहारको अपराधमा प्रहरीको फन्दामा परिन सक्छ ।

९. होलीको दिन रमाइलोका लागि भन्दै मदिरा वा भाङ खाएर सवारी चलाउनु हुदैन, दुर्घटनामा पर्न सकिन्छ ।

१०. दिनभरी होली खेल्नु भन्दा केही समय होली खेलेर शरीरलाई राम्ररी सफा गर्नुपर्छ ।

११. रंग निकाल्नका लागि छालालाई माड्नु हुँदैन । यदि सफा गरेर पनि रंग निस्केन भने त्यसलाई जबरजस्ती निकाल्ने कोशिश गर्नु हुँदैन ।

१२. नुहाइ सकेपछि छालामा नरिवलको तेल लगाउनु पर्छ ।

१३. सकेसम्म भिड वा धेरै मानिसको स्थानमा जानुहुदैन । संक्रमणको खतरा हुनसक्छ ।

१४ . जबर्जस्ती कसैलाई पनि रंग लगाउने, लोला हान्ने तथा इच्छा विपरित काम नगर्नहोस्, अन्यथा कानुनी कारबाही हुनसक्छ ।

१५. होली रंगको पर्व भएकोले यसमा सद्भाव बाँढौं, सम्भावित दुर्घटनाबाट बचौं ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !