२३ भाद्र २०८१, आइतबार

राष्ट्रपतिद्वारा खप्तडको अवलोकन भ्रमण


असोज २६, डोटी । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘भू–स्वर्ग’का नामले परिचित सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडको अवलोकन भ्रमण गरेकी छन् ।राष्ट्रपति भण्डारीले बिहीबार बिहान दिपायलबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत् खप्तड राष्ट्रिय निकुञ्ज पुगेर अवलोकन गरेकी हुन् । राष्ट्रपति भण्डारीसहितको टोली बिहान ९ बजेर ४५ मिनेटमा खप्तड अवतरण गरेको थियो ।

त्यसपछि उनले खप्तड बाबाको मन्दिर र खप्तड त्रिवेणी मन्दिरको दर्शन तथा आसपासका क्षेत्रको अवलोकन गरेकी थिइन् । ११ बजेर ५५ मिनेटमा राष्ट्रपति भण्डारीको टोली खप्तडबाट फर्किएको खप्तडस्थित नेपाली सेनाले जनाएको छ । खप्तडबाट फर्किएर राष्ट्रपति भण्डारीले दिउँसो एक बजेतिर डोटीको सदरमुकाम सिलगढीमा रहेको प्रसिद्ध मन्दिर शैलेश्वरीकोसमेत दर्शन गरेकी छन् । त्यसपछि दिपायलस्थित नेपाली सेनाको सुदूरपश्चिम पृतना हेडक्वार्टरमा खाना खाएर राष्ट्रपति भण्डारी काठमाडौं फर्किएको डोटीका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।

राष्ट्रपति भण्डारी बुधबार जुम्लाको खलंगामा रहेको चन्दननाथ माध्यमिक विद्यालयको नवनिर्मित विज्ञान प्रयोगशाला भवनको उद्घाटन गरेर बास बस्न दिपायल पुगेकी थिइन् । राष्ट्रपतिको भ्रमणबाट प्राकृतिक सुन्दरताले भरिपूर्ण तथा धार्मिक महत्व बोकेका खप्तड र शैलेश्वरी मन्दिरको प्रचार–प्रसार र प्रबद्र्धनमा योगदान पुग्ने स्थानीयले विश्वास व्यक्त गरेका छन् । ‘पर्याप्त सम्भावना हुँदाहुँदै पनि राज्यले आवश्यक भूमिका निर्वाह नगरिदिँदा खप्तड ओझेलमा छ’–खप्तड मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद उपाध्यायले भने–‘यस्तोमा राष्ट्रप्रमुखको भ्रमणले उत्साह दिएको छ । यसले यसको प्रबद्र्धनात्मक विकासमा मद्दत पुग्ने विश्वास गर्न सकिन्छ ।’

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !