५ जेष्ठ २०८१, शनिबार

केमा अड्कियो वाम गठबन्धन ? के गर्दैछ कांग्रेस ?


असोज २५, काठमाडौँ । उम्मेदवारी मनोनयन दर्ता गर्ने मिति नजिकिँदै गर्दा पनि वाम गठबन्धनले अझै उम्मेदवारी टुंगो लगाउन सकेको छैन । तीन दिनभित्र भागबन्डाका आधारमा क्षेत्रको टुंगो लगाउने सहमति गरेका नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच कुरा मिल्न नसक्दा उम्मेदवार चयनमा ढिलाइ भएको हो । प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६०/४० को भागबन्डा गरेपनि एमाले र माओवादी केन्द्रले उम्मेदवारको टुंगो लगाउन नसकेका हुन् ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि दलहरुले समानुपातिकतर्फ असोज २९ गते उम्मेदवारको बन्दसूची बझाउनुपर्ने कार्यसूची निर्वाचन आयोगले यसअघि नै सार्वजनिक गरिसकेको छ । पहिलो चरणको निर्वाचनका लागि कात्तिक ५ गते प्रत्यक्षतर्फ मनोनयन दर्ता गर्नुपर्नेछ । तर, वाम गठबन्धनमा ६०/४० को भागबन्डा भएपनि कुन निर्वाचन क्षेत्रमा कसले कति सिट लिने भन्ने विषयमा अझै सहमति हुन सकेको छैन ।

गठबन्धनमा रहेका एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले आन्तरिकरुपमा आफ्नो सूची ल्याएपनि भागबन्डाका आधारमा उम्मेदवारको टुंगो लगाउन नसकेका हुन् । उम्मेदवार छनोट कार्यदलका सदस्यहरुले उम्मेदवारीका विषयमा सहमतिनजिक पुगिरहेको दाबी गरेका छन् । तर, पार्टीहरुभित्रको आन्तरिक विवादले टुंगोमा भने पुग्न नसकेको कार्यदलकै सदस्यहरु बताउँछन् । गठबन्धन उम्मेदवारको टुंगो लगाउन चार दिनदेखि नेताहरु छलफलमा बसिरहेका छन् ।

यसैबीच, बृहत् लोकतान्त्रिक मोर्चा बनाउन सक्रिय रहेको नेपाली कांग्रेसले पनि कुन–कुन पार्टीलाई मोर्चामा आबद्ध गराउने भन्ने टुंगो लगाउन सकेको छैन । कांग्रेसले गठबन्धनमा सहभागी दलहरुलाई १६५ मध्ये कति सिट दिन सकिन्छ भन्ने अझै निर्क्यौल गर्न सकेको छैन । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल, संघीय समाजवादी फोरम नेपाल, राप्रपा र राप्रपा प्रजातान्त्रिकले बढी सिट माग गरेकाले कांग्रेसलाई अप्ठ्यारो परेको हो । मोर्चामा आबद्ध हुन चाहने दलहरुले बढी अपेक्षा गरेका कारण कांग्रेसले एक्लै चुनावमा जाने रणनीतिसमेत बनाउन थालेको बताइएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !