१० पुस २०८१, बुधबार

आज कृष्ण अमावास्या : दिवंगत पितृको सम्झनामा पिण्डदान गरिदै


पिण्डदान

पुस ९, काठमाडौं । आज वैदिक सनातन हिन्दू धर्मावलम्बीले पौष कृष्ण अमावास्याका अवसरमा विभिन्न तीर्थस्थलमा विधिपूर्वक तर्पण, सिधादान र पिण्डदान गरी दिवङ्गत पितृप्रति सम्मानभाव प्रकट गर्दैछन् । पौष कृष्ण अमावास्याका दिन तीर्थमा श्राद्ध गर्ने शास्त्रीय विधान रहेको छ । तीर्थ श्राद्ध पनि सोह्रश्राद्धमा गरेजस्तै पार्वण विधिले गर्नुपर्ने धार्मिक विधान रहेको छ ।

यसवर्ष बुधबार र बिहीबार दुई दिन अमावास्या अर्थात् औँसी तिथि परेको छ । बिहीबार बिहान खण्डग्रास सूर्यग्रहण समेत लाग्ने भएकाले बुधबार नै पौष कृष्ण अमावास्याका दिनमा तीर्थ श्राद्ध गनुपर्ने हुन्छ । ग्रहणमा गरिने श्राद्ध भने बिहीबार नै गर्नुपर्ने जनाइएको छ ।

यसपटक प्रत्येक वर्ष नियमित पौष कृष्ण अमावास्याका दिन तीर्थमा गई श्राद्ध गर्नेले मात्र गर्नुपर्छ । गत मङ्सिर २८ गते शनिबार पश्चिमबाट वृहस्पति (गुरु) अस्ताएकाले यसअघि तीर्थ श्राद्ध नगरेका नयाँले तीर्थमा गई श्राद्ध गर्नुहुँदैन, पुस २४ गते पूर्वबाट वृहस्पति उदय हुनेछ । वृहस्पति र शुक्र अस्त भएका बेला नगएको तीर्थमा जानु नहुने, दर्शन नगरेको देवताको दर्शन गर्न नहुने शास्त्रीय मान्यता छ ।

यसैगरी साइत जुराएर गर्नुपर्ने कतिपय धार्मिक कर्म पनि गुरु एवं शुक्र अस्त भएको समयमा गरिँदैन । यस अवसरमा राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावतीको उत्तरगया, चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थित कालीगण्डकीतिरको देवघाटधाम, गुल्मी र पाल्पाको सङ्गम रिडी, मुस्ताङको कागबेनी लगायत तीर्थस्थलमा पनि तीर्थ श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !