६ जेष्ठ २०८१, आइतबार

सार्वजनिक महत्वको प्रस्तावले बजेटलाई सहयोग गर्छ : अर्थमन्त्री खतिवडा


Yubraj Khatiwada

१४ असार, काठमाडौँ ।  अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिसभामा आज प्रस्तुत भएको सार्वजनिक महत्वको प्रस्तावले विनियोजनमाथिको छलफलमा प्रभावित पार्ने नभई थप सहयोग पुग्ने बताउनुभएको छ ।

सार्वजनिक महत्वको प्रस्तावमाथि सांसदले उठाउनुभएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा खतिवडाले उक्त प्रस्ताव निर्माणाधीन आयोजनाको कार्यान्वयनमा अवरोध नआओस् भनेर सरकारको ध्यानाकर्षण गराउन आएको आफूले बुझेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यसले विनियोजनमाथिको छलफललाई अवरोध होइन बरु थप सहयोग पु¥याउने विश्वास व्यक्त गरेको छु ।” सरकारका सामु असंख्य योजना र सीमित स्रोतसाधन रहेकाले आयोजनामा बजेट कम हुने गरेको बताउँदै अर्थमन्त्री खतिवडाले निर्माणाधीन ठूलो आयोजना केन्द्रले र मझौला तथा साना योजना तत् प्रदेशमा प्रदेश तथा स्थानीय तहले गर्नुपर्नेमा सरकार स्पष्ट रहेको जानकारी गराउनुभयो ।

प्रस्तावले संघीयता कार्यान्वयनमा अवरोध होइन सहयोगी हुने भन्दै उहाँले त्यस्ता आयोजना बजेट रकमान्तर गरेर पनि सम्पन्न गर्ने अठोट व्यक्त गर्नुभयो । अर्थमन्त्री खतिवडाले सार्वजनिक खर्च प्रभावकारी बनाउन सार्वजनिक खर्च पुनरावलोकन आयोग गठन गर्ने सरकारको तयारी रहेको बताउनुभयो ।

सांसद खगराज अधिकारीले प्रतिनिधिसभाको आजको बैठकमा ‘देशभर निर्माणाधीन अवस्थामा रहेको चालु आव २०७५÷७६ सम्म सरकारको छनोटका खानेपानी, सडक, ढल, पुलेसा, सिँचाइ र अन्य आयोजनाहरु सम्पन्न गरी तत् प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने व्यवस्था मिलाउन आवश्यक भएको’ भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नुभएको हो ।

सांसद अधिकारीले केन्द्रको स्रोतबाट निर्माणाधीन आयोजना अलपत्र हुनसक्ने र समयमै सम्पन्न हुन नसक्ने र विकास निर्माणमा गम्भीर असर पर्ने भएकाले ती आयोजना समयमै सम्पन्न गर्न अत्यावश्यक भएको भन्दै गत जेठ २९ गते संघीय सचिवालयलमा उक्त प्रस्ताव दर्ता गराउनुभएको थियो । उक्त प्रस्तावमा सत्ता पक्ष र विपक्षका सांसदहरुले आआफ्ना धारणा राख्नुभएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु