१२ आश्विन २०८१, शनिबार

नेपालपत्र डायरी : आज दिनभरका १० हेडलाइन्स


नेपालपत्र डायरी : आज दिनभरका १० हेडलाइन्स

काठमाडौँ । आज मिति २०८१ साल भदौ महिनाको ५ गते बुधबार । आज दिनभर भएका घटनाहरुका मुख्य १० हेडलाइन्स सहित ‘नेपालपत्र डायरी’ लिएर आएका भएका छौँ :

१. अड्किएका फाइल २४ घण्टाभित्र छिनोफानो गर्न पर्यटनमन्त्री पाण्डेको निर्देशन

पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालय मातहतका निकायले आफ्ना काम चुस्त र परिणाममुखी बनाउन निर्देशन दिएका छन् । आज मन्त्रालयको संस्कृति महाशाखाअन्तर्गतका निकायका पदाधिकारीसँग ‘समस्या, चुनौती र समाधानका उपाय’ विषयक छलफल कार्यक्रममा मन्त्री पाण्डेले असोज महिनाभित्र प्रत्येक निकायले कार्य प्रगति विवरण पेस गर्न कर्मचारीलाई निर्देशन दिए ।

२. भ्रष्टाचार निवारणसम्बन्धी विधेयक चाँडो टुङ्ग्याऔँ : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारणसम्बन्धी ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकलाई चाँडै समितिबाट टुङ्ग्याइदिन आग्रह गरेका छन् । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उक्त विधेयकमाथिको छलफलका क्रममा उहाँले समितिको संशोधन सरकारलाई स्वीकार्य भएको बताए ।

३. स्वास्थ्य मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच महत्वपूर्ण सम्झौता

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच सङ्घीय सरकार मातहतका १७ अस्पतालमा रहेका उपकरणको मर्मत सम्भार र व्यवस्थापन गर्नेलगायतका विषयमा सहकार्य गर्ने सम्झौता भएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थितिमा मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदन उपाध्याय र आविष्कार केन्द्रकातर्फबाट अध्यक्ष डा. महाविर पुनबीच त्यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

४. नेपाल सङ्गीत उद्योग सङ्घको कार्यालयमा मानव बेचबिखन ब्यूरोद्वारा छापा

नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले काठमाडौँको अनामनगरस्थित नेपाल सङ्गीत उद्योग सङ्घको कार्यालयमा आज छापा मारेको छ ।
आज दिउँसो ब्यूरोको टोलीले सङ्घको कार्यालयमा छापा मारी केही कागजात तथा कम्प्युटरको ‘हाडडिक्स’ बरामद गरेको मानव बेचबिखन ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

५. धरहरा खुला गर्ने तयारी भइरहेको छ : उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले आमनागरिकका लागि चाँडै धरहरा खुला गर्ने तयारी गरिरहेको बताएका छन् । आज सिंहदरबारस्थित मन्त्रालयमा पूर्वाधार विषयमा लेख्ने पत्रकारसँगको अन्तरक्रियाका क्रममा उनले सरकारको सय दिनभित्रै धरहरा चढ्न मिल्नेगरी व्यवस्था मिलाउन लागिएको जानकारी दिए ।

६. पाठेघरको शल्यक्रिया गर्ने क्रममा महिलाको मृत्यु

भरतपुर अस्पतालमा पाठेघरको शल्यक्रिया गर्ने क्रममा एक महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१२ मुनाल चोक बस्ने ३९ वर्षीया सम्झना काफ्लेको मङ्गलबार पाठेघरको शल्यक्रिया गरेर बायोप्सी निकाल्ने क्रममा मृत्यु भएको हो । माइनर (साधारण) शल्यक्रिया गर्दा नै महिलाको मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन् ।

७. जलविद्युत्मार्फत आर्थिक समृद्धि हासिल गर्न आन्तरिक खपत बढाउनुपर्छ : अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले जलविद्युत्मार्फत आर्थिक समृद्धि हासिल गर्न आन्तरिक खपत बढाउनुपर्नेमा जोड दिएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र उपाय नामक संस्थाको संयुक्त आयोजनामा आज यहाँ भएको ‘अनलकिङ इन्भेष्टमेन्ट’ कार्यक्रममा उनले ऊर्जा क्षेत्रमा निजी लगानीलाई प्रोत्साहन गर्ने योजना आवश्यक रहेकोसमेत बताए ।

८. प्रधानमन्त्री ओलीसँग दक्षिण कोरियाली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले आज शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा आर्थिक, व्यापार लगानी, पर्यटन प्रवर्द्धनलगायत दुई पक्षीय हितका विविध क्षेत्रमा सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

९. राष्ट्रिय सभा अध्यक्ष दाहालसँग चिनियाँ राजदूत सोङको शिष्टाचार भेट

राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपालका लागि चिनियाँ राजदूत छेन सोङले शिष्टाचार भेट गरेका छन् । राजदूत सोङले आज (बुधबार) सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन् ।

१०. नेप्से परिसूचकमा आज सामान्य अङ्कको वृद्धि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ११ अङ्कले बढेर दुई हजार नौ सय ६८ दशमलव ४४ को बिन्दुमा कायम भएको हो । आज तीन सय ३७ कम्पनीको चार करोड १४ करोड ५४ हजार छ सय ११ कित्ता शेयर दुई लाख १४ हजार तीन सय १९ पटक खरिदबिक्री हुँदा रु १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार नौ सय ९२ बराबरको कारोबार भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !