१६ आश्विन २०८१, बुधबार

मालपोत कार्यालयमा मन्त्री पण्डितकाे अाकस्मिक अनुगमन


lal babu pandit

९ वैशाख, काठमाण्डौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मालपोत कार्यालय डिल्लीबजारको आकस्मिक अनुगमन गरेका छन् ।

उक्त अनुगमनका क्रममा ३० जना कर्मचारीमध्ये नाै जना लामो समयदेखि अनुस्थित र दुई जना ढिलो उपस्थित भएको भेटिएको छ । त्यसक्रममा मन्त्री पण्डितले कर्मचारी र सेवाग्राहीका कुरा सुनेका थिए । त्यसपछि कार्यालयको कामकाज सन्तोषजनक नदेखिएको पण्डितले बताए ।

उनले कार्यालयका कायम मुकायम प्रमुख केशवप्रसाद न्यौपानेलाई कार्यालयको कामकाज सन्तोषजनक नदेखिएकाले आवश्यक व्यवस्थापन र कारबाहीका लागि सम्बन्‍धित मन्त्रालय र विभागमा पत्रचार गर्न निर्देशन दिएका छन् ।

उनले अनुपस्थित कर्मचारीको विवरण उपलब्ध गराउन समेत निर्देशन दिएका छन् । राष्ट्रसेवक र जनता दुवैको गुनासो सुनेर सेवा प्रवाहलाई सहज र सरल बनाउनुपर्ने आवश्यकता रहेकाले सार्वजनिक रुपमा आएका गुनासालाई परीक्षणका रुपमा छड्के अनुगमन गरिएको मन्त्री पण्डितले प्रष्टाए ।

अनुगमनका क्रममा समयमै सेवा प्रवाह गर्छन् कि गर्दैनन्, दरबन्दीअनुसारको कर्मचारी व्यवस्था छ कि छैन । समयमै काम शुरु गर्छन् कि गर्दैनन् भनेर जाँच गरेका थिए । अनुगमनपछि मन्त्री पण्डितले कर्मचारीहरु समयमा उपस्थित नभएको, जानकारीबिना बिदा बसेको र सेवाग्राहीको काम समयमा नहुने गरेको आफूले फेला पारेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !