२० असार २०८१, बिहिबार

समयभित्रै निर्वाचन नभए संसद स्वतः पुनःस्थापना : दाहाल


कात्तिक ९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तोकिएको समयमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नभएमा व्यवस्थापिका–संसद स्वतः पुनःस्थापना हुने बताएका छन् । लक्ष्मण पन्तले लेखेको ‘आधुनिक नेपालको इतिहास (वि.सं. १७४३–१९५५)’ पुस्तक बिहीबार राजधानीमा विमोचन गर्दै अध्यक्ष दाहालले संविधानतः संसदको अवधि आगामी माघ ७ गतेसम्म भएपनि निर्वाचनको मनोनयन प्रक्रिया सुरु भएकाले संसद विघटन भएको तर मंसिर १० र २१ गते तोकिएको निर्वाचन नभएमा स्वतः संसद पुनःस्थापना हुने दाबी गरे ।

उनले यस विषयमा विहीबारै वाम गठबन्धनले आफ्नो धारणा सार्वजनिक गर्ने जानकारी दिए । उनले भने–‘अग्रगामी र परिवर्तनका पक्षधर मिलेको देख्न नचाहने प्रतिगामी तत्वले निर्वाचन प्रक्रिया बिथोल्न सक्छन्, यसमा हामी सबै सचेत हुन आवश्यक छ ।’ अध्यक्ष दाहालले प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख दलका शीर्ष नेताको सहमतिमा निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका लागि एउटै सिटमा अलग–अलग मतपत्र छाप्ने प्रक्रिया थालेकाले यसमा कुनै भ्रम नराख्न आग्रह गरे ।

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले इतिहास लेखनमा समाजवादी र प्रगतिशील अवधारणासहित पन्तले पुस्तक लेखेको बताए । कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधीर शर्माले इतिहासलाई हेर्ने सम्बन्धमा दक्षिणपन्थी वा उग्रवामपन्थी दुवै दृष्टिकोण गलत हुने धारणा राखे । कुल ५५८ पृष्ठको सो पुस्तक सो अवधिको महत्वपूर्ण घटनाको समीक्षामा आधारित रहेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !