१२ पुस २०८१, शुक्रबार

बैतडीमा आज सोमवारदेखि १४ गतेसम्म निषेधाज्ञा


निषेधाज्ञा

बैतडी, ७ भदौ । कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि जिल्लामा सोमबारदेखि निषेधाज्ञा गरिने भएको छ । सोमबार राति १२ः०० बजेदेखि यही भदौ १४ गते राती १२ः०० बजेसम्म लागु हुने गरी आंशिक रुपमा निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएको र गौरापर्व पनि शुरु भएकाले भीडभाड हुन नदिन स्थानीय प्रशासनले आंशिक निषेधाज्ञा जारी गरेको हो । जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले सङ्क्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी गरिएको आदेशमा अत्यावश्यक सेवा तथा वस्तुबाहेक सबै प्रकारका उद्योग, व्यापार व्यवसाय बन्द गरिने उल्लेख गरिएको छ ।

यस्तै अत्यावश्यक कामबाहेक कसैले बाहिर हिँडडुल गर्न पाइने छैन भने बाहिर निस्कनु परेमा अनिवार्यरुपमा मास्कको प्रयोग गरेर मात्रै निस्कन पाइनेछ । यसैगरी अत्यावश्यक सामग्री ढुवानी गर्ने, एम्बुलेन्स, सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक जिल्लामा अन्य सवारीसाधन प्रवेशमा रोक लगाउने, जिल्लाभित्रका सबै प्रकारका निजी तथा सार्वजनिक सवारी साधनमा रोक लगाइने आदेशमा उल्लेख गरिएको छ ।

काठमाडौंबाट आएका प्रहरीमा कोरोना पुष्टि

काठमाडौंबाट बैतडी सरुवा भएका प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएकोे छ । गत साउन २९ गते काठमाडौंबाट बैतडी सरुवा भएका एक प्रहरी जवान र एक अर्का प्रहरी जवानकी छ महिनाकी छोरीमा पनि कोरोना पुष्टि भएको हो ।

आज डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा एक प्रहरी जवानसहित जिल्लाका चार जनामा कोरोना पुष्टि भएको कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिनुभयो । काठमाण्डौंबाट सरुवा भइ इलाका प्रहरी कार्यालय पाटन आएका ३१ वर्षीय प्रहरी जवान, काठमाण्डौंबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालय आउनुभएकी प्रहरी जवानकी छ महिनाकी छोरी, सुर्नया गाउँपालिकाका ३९ वर्षीय पुरुष र दशरथचन्द नगरपालिका–९ का २६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि भएका प्रहरी जवानको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ भने छ महिने बालिका आफ्नै आमासँग क्वारेन्टिनमा रहेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक गौरीप्रसाद जैशीले जानकारी दिनुभयो ।

यस्तै सुर्नया र दशरथचन्द नगरपालिका–९ का कोरोना पुष्टि भएका पुरुष दुवै जना भारतबाट फर्केर घरमै बसिरहेका स्वास्थ्य कार्यालयका कोभीड–१९ सम्र्पक व्यक्ति जोशीले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !