काठमाडौं । नेपाल पूर्व सशस्त्र प्रहरी संघले ‘म्यान अफ द वर्ल्ड’ आयुष दुलाललाई शुभकामना दिएको छ । फिलिपिन्समा आगामी मे २३ देखि ३१ सम्म आयोजना हुने ‘म्यान अफ द वर्ल्ड-२०२५’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न लागेका दुलाललाई हिजो सोमबार नेपाल पूर्व सशस्त्र प्रहरी संघले शुभकामना दिएको हो ।
नेपाल पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष एवं अवकाशप्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण बाबु थापाले दुलाललाई प्रशंशापत्र प्रदान गर्दै नेपाल पूर्व सशस्त्र प्रहरी संघको तर्फबाट शुभकामना व्यक्त गरेका हुन् । नेपाल पूर्व सशस्त्र प्रहरी संघका सन्ततीले राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भई सफलता प्राप्त गरेर नेपालको प्रतिनिधित्व गर्दै विश्वव्यापी मंचमा सहभागी हुन पाउने यस प्रकारको सफलताको लागि खुशी तथा गौरवको अनुभूति महसुस गरेको उक्त संघले जनाएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा-१४ का दुलाल विश्वमाझ नेपालमा प्रतिनिधित्व गर्दै फिलिपिन्समा आयोजना हुने ‘म्यान अफ द वर्ल्ड-२०२५’ प्रतियोगितामा विश्वव्यापी मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने लागेका हुन् । दुलालले मिस्टर नेपाल-२०२४ प्रतियोगितामा सहभागी भई ‘म्यान अफ द वर्ल्ड नेपाल-२०२५ एण्ड बेस्ट पर्सनालिटी प्राप्त गरेका थिए ।
आईटी स्नातक र मानसिक स्वास्थ्य प्राथमिक सहयोगी दुलालले मानसिक स्वास्थ्य जागरूकताको वकालत र खेलकुद प्रवद्र्धन गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन् । यस प्रतियोगितामा नेपालले अघिल्ला संस्करणमा राम्रो छवि बनाएकोले यस वर्ष पनि उपाधिको धेरै आशा गरिएको छ ।












